अनावश्यक खर्च कटौती गर्न मातहतका निकायलाई सरकारको निर्देशन

काठमाडौं। सरकारले अनावश्यक खर्च कटौती गर्न मातहतका निकायलाई निर्देशन दिएको छ। गत आइतबार बसेको बैठकले अर्थ मन्त्रालयमार्फत् सरकारी खर्चमा मितव्ययिता कायम गर्न सबै मन्त्रालय, विभाग, आयोग, निकाय तथा कार्यालयहरूलाई विशेष निर्देशन जारी गरेको छ।

मन्त्रालयले मंगलबार सार्वजनिक गरेको प्रेस विज्ञप्तिमा चालु आर्थिक वर्षको बजेट खर्च गर्दा प्राथमिकता र आवश्यकता अनुसार मात्रै स्रोत प्रयोग गर्न आग्रह गरिएको छ। ‘राज्यका सीमित स्रोतलाई प्रभावकारी र उत्तरदायी ढङ्गले प्रयोग गर्न अनावश्यक खर्च कटौती गर्नु अपरिहार्य भएको छ’, विज्ञप्तिमा उल्लेख छ।

मन्त्रालयले सरकारी कार्यालयहरूमा हुने फजुल खर्च नियन्त्रण गर्न र वित्तीय अनुशासन कायम राख्न तत्काल प्रभावमा लागू हुने विभिन्न बुँदाहरू तोकेको छ।

सार्वजनिक संरचनाको पुनर्निर्माण र मर्मत, सार्वजनिक सेवा सुचारू, निर्वाचन खर्च व्यवस्थापन, आर्थिक पुनरुत्थान र राहत समेतका लागि विकास आयोजनाको पुनर्प्राथमिकीकरण, अनुत्पादक खर्च कटौती र मितव्ययिता कायम गर्ने सम्बन्धमा यी निर्णयहरू गरेको मन्त्रालयले जनाएको छ।

मन्त्रालयले यी निर्णय कार्यान्वयन गर्न नेपाल सरकारका सबै मन्त्रालय तथा निकाय, प्रदेश सरकार तथा सबै स्थानीय तहलाई पत्राचार गरेको बताएको छ।