दसैँको टीका नलगाई प्रधानमन्त्री जेनजी आन्दोलनका मृतकका परिवारलाई भेट्दै
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले यस वर्षको विजयादशमीको दिन जेनजी आन्दोलनमा ज्यान गुमाएका तीन व्यक्तिका परिवारसँग भेट्ने कार्यक्रम तय गरेकी छन् ।
आज प्रधानमन्त्री कार्कीले बागलुङ घर भई काठमाडौंको वनस्थलीमा बस्दै आएका मृतक सौरन किशोर श्रेष्ठको परिवारसँग भेट्नेछिन्। उनको सचिवालयका अनुसार, बिहीबार दिउँसो २:४५ देखि ३:०० बजेसम्म वनस्थलीमै गएर उनले परिवारलाई भेट्ने समय तय भएको छ।
त्यसपछि, कार्कीले नागर्जुन-३ मा मृतक कान्छी नगरकोटीको परिवारसँग १५ मिनेट भेट्ने कार्यक्रम छ। त्यसैगरी, कीर्तिपुरको मैत्रीनगरमा मृतक बुद्धिबहादुर तामाङको परिवारसँग भेट्ने तालिका रहेको सचिवालयले जनाएको छ।
प्रधानमन्त्री कार्कीले जेनजी आन्दोलनमा मृत्यु भएकाहरूको सम्झनामा यस वर्षको दसैँमा टीका नलगाउने यसअघि नै घोषणा गरिसकेकी छन्।
