मलेसियाविरुद्धको टी–२० आई सिरिजको पहिलो खेलमा नेपाल पराजित
काठमाडौं। मलेसियाविरुद्धको टी–२० आई सिरिज अन्तर्गत पहिलो खेलमा नेपाल पराजित भएको छ। घरेलु टोली मलेसियाले जीतका लागि दिएको एक सय पाँच रनको लक्ष्य पछ्याएको नेपालले ७ विकेटको क्षतिमा १ सय १ रन मात्र बनाउन सक्यो।
अन्तिम ओभरमा जितका लागि ७ रन आवश्यक हुँदा नेपालले मात्र ३ रन जोडेपछि मलेसियाले ५ खेलको टि २० सिरिजमा १–० को अग्रता लिएको हो।
नेपालका लागि पूजा महतोले ३०, सम्झना खड्काले १८ रन जोडिन्। कविता जोशीले नटआउट १३ रन बनाए पनि टोलीलाई जित दिलाउन सकिनन्। यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले निर्धारित ओभरमा पाँच विकेट गुमाएर एक सय चार रन बनाएको थियो। मलेसियाका लागि कप्तान विनिफ्रेड दुरासिङ्घमले २७ रनको योगदान गरिन्। आइना हामिजाह हासिमले पनि टोलीको खातामा २६ रन थपिन्।
मस एलिसाले आक्रामक ब्याटिङ गर्दै २५ रन बनाइन्। नेपालकी सोमु विष्टले दुई र रुविना क्षेत्रीले एक विकेट लिइन। मलेसिया भ्रमणका क्रममा नेपालले आयोजक राष्ट्रसँग पाँचवटा टी–२० अन्तर्राष्ट्रिय खेलको शृंखला खेल्नेछ।
दोस्रो खेल शनिबार र तेस्रो खेल आइतबार खेलिने छ। चौथो खेल मंगलबार र पाँचौं खेल बुधबार हुनेछ। नेपाली महिला टोलीले तीन महिनापछि घरेलु मैदानमा आयोजना हुने महिला टी–२० विश्वकपको ग्लोबल छनोटको तयारीका यो शृंखला खेल्न लागेको हो।
