जेनजीले भने-सङ्घीय लोकतान्त्रिक गणतन्त्र, धर्म निरपेक्षता र समावेशिताको पक्षमा छौँ
काठमाडौं । जेनजी आन्दोलनमा संलग्न युवा समूहहरूले विज्ञप्ति जारी गर्दै नयाँ राजनीतिक परिस्थितिबारे आफ्नो धारणा व्यक्त गरेका छन् । भदौ २३ गते माइतीघरमा प्रदर्शनको अनुमति लिन काठमाडौं जिल्ला प्रशासन पुगेका पुरूषोत्तम यादव नेतृत्वको समूहले आन्दोलनपछि उत्पन्न परिस्थिति, सरकारको अदूरदर्शिता र केही घुसपैठ तत्त्वका कारण भएको क्षतिप्रति चिन्ता व्यक्त गरेको छ ।
‘हाम्रो आन्दोलन शान्तिपूर्ण, संवैधानिक र भ्रष्टाचारविरुद्ध जनचेतना जगाउने उद्देश्यले सञ्चालित थियो। अराजकता र क्षतिको जिम्मेवारी राज्य र घुसपैठ तत्त्वहरूले लिनुपर्छ,’ यादवको विज्ञप्तिमा उल्लेख छ । आन्दोलनको सफलतापछि यसको संरक्षण र विस्तारको जिम्मेवारी सम्पूर्ण पुस्तामा आएको उनले बताए ।
युवाहरूलाई एकीकृत गरी जनताको आवाज सरोकारवाला निकायसम्म पुर्याउन र दबाब सिर्जना गर्न समूह सक्रिय छ । यादवले असोज २३ मा कुनै कार्यक्रम नरहेको प्रस्ट्याउँदै भने, ‘हाम्रो आन्दोलन जनताको आवाजका लागि हो, कुनै दल वा स्वार्थका लागि होइन ।’
इन्डिजिनियस जेनजी कलेक्टिभ, जेनजी मुभमेन्ट अलायन्स र हाउ टू देश विकासजस्ता समूहले पनि अवधारणापत्रसहित विज्ञप्ति जारी गरेका छन् । उनीहरूले तेस्रो पुस्ताका नेताहरूलाई दलभित्र रूपान्तरणका लागि भूमिका खेल्न आह्वान गरेका छन् । युवाहरूले सङ्घीय लोकतान्त्रिक गणतन्त्र, धर्मनिरपेक्षता र समावेशी सहभागितालाई स्विकार्दै नेतृत्वको इच्छाशक्ति, नैतिकता र दलीय कार्यप्रणालीमाथि प्रश्न उठाएका छन् ।
उनीहरूले पुराना दलका युवा नेतृत्वलाई लुटिएको धन फिर्ता र खबरदारीको माग गरेका छन् । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक र काठमाडौंका प्रमुख जिल्ला अधिकारी छवि रिजालमाथि छानबिनको माग पनि गरेका छन्।
