परिवार पाल्न र छोरी पढाउन साथीले सहयोग गर्छन्: मन्त्री पुन

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले सामाजिक सञ्जालमा आफ्नो आर्थिक अवस्थाबारे उठेका प्रश्नको जवाफमा स्पष्टीकरण दिएका छन्। मन्त्री पुनले आफ्नो र परिवारको खर्च लामो समयदेखि साथीहरू र शुभचिन्तकहरूले व्यहोरिदिएको बताए।

फेसबुकमार्फत उनले भने, ‘मन्त्री भए पनि मेरो र श्रीमती, छोरीहरूको खर्च साथीहरूले पुर्‍याइदिन्छन्। मलाई ढुक्क छ।उनले मन्त्रीको तलब र भत्ता नलिएको पनि प्रष्ट पारे।

पुनले ३२ वर्षअघि अमेरिकाबाट फर्किएर ग्रामीण क्षेत्रमा ताररहित इन्टरनेट विस्तार गरेको स्मरण गरे। पछिल्लो सात वर्षदेखि राष्ट्रिय आविष्कार केन्द्र सञ्चालन गरी युवाहरूलाई नवप्रवर्तनको अवसर प्रदान गरेको, कोरोना महामारीमा निःशुल्क औषधि वितरण गरेको र ३० वर्षदेखि बन्द वीरगञ्ज कृषि औजार कारखाना पुनः सञ्चालन गर्न जनताबाट करोडौं सहयोग प्राप्त भएको उनले उल्लेख गरे।

यी कार्यले जनताको विश्वास आर्जन गरेको उनको भनाइ छ। यात्रा खर्चसमेत आफैँले बेहोर्दै आएको बताउँदै मन्त्री पुनले थप जानकारीका लागि आफ्नो आत्मकथा पढ्न सुझाए। उनले जनतासँग पारदर्शी र जवाफदेही रहने प्रतिबद्धता व्यक्त गरे।