वर्षाको सम्भावनापछि मोरङमा सेनाको हेलिकप्टर तयारी अवस्थामा

मोरङ। मोरङका केशलिया, सिंगिया र दरैया खोल आसपासका बस्तीमा बाढी र सम्भावित प्रकोपबारे माइकिङमार्फत सचेत गराउने निर्णय भएको छ। जल तथा मौसम विज्ञान विभागले असोज १७ देखि २० गतेसम्म भारी वर्षाको प्रक्षेपण गरेपछि जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले सो निर्णय गरेको हो।
प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार आवश्यक परे बासिन्दालाई सुरक्षित स्थानमा स्थानान्तरणको तयारी गरिएको छ। जोखिमलाई मध्यनजर गर्दै रात्रिकालीन लामो दूरीका बस सेवा स्थगन गर्ने निर्णय गरिएको छ। विपद् पूर्व तयारी तथा प्रतिकार्य योजनाअनुसार जिल्लाका सबै स्थानीय तहमा स्थानीय विपद् व्यवस्थापन समितिहरू सक्रिय रहनेछन्।
स्थानीय स्वयंसेवक, गैरसरकारी संस्था र निजी क्षेत्रलाई सहभागिताका लागि आह्वान गरिएको छ। प्रकोप व्यवस्थापनलाई सुदृढ बनाउन नेपाली सेनाको टोलीसहित हेलिकप्टर तयारी अवस्थामा राखिएको छ। सुरक्षा निकायका पदाधिकारी सम्मिलित कमान्ड पोस्ट निरन्तर सञ्चालनमा रहने भएको छ।
उच्च जोखिमयुक्त स्थानमा सुरक्षा निकायलाई सचेत गराइएको छ भने ठूला अस्पताल र स्वास्थ्य संस्थालाई आपतकालीन सेवाका लागि तयार रहन निर्देशन दिइएको छ । विपद् व्यवस्थापनका लागि नेपाल प्रहरीको टोल फ्री नं।१००, सशस्त्र प्रहरीको १११४ र अन्य पदाधिकारीका सम्पर्क नम्बर सार्वजनिक गरिएको छ । उद्धार र प्रतिकार्यका लागि हेभी इक्विपमेन्ट डिभिजन, स्थानीय तह र निजी क्षेत्रलाई सक्रिय रहन आग्रह गरिएको छ।
