प्रचण्डको अपिल-अझै जोखिम पूर्ण रूपमा हटेको छैन,सावधानी अपनाउनू

काठमाडौं। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले बाढी, डुबान र पहिरोको अझैपनि जोखिम पूर्ण रुपमा नहटेको भन्दै उच्च सतर्कता र सावधानी अपनाउन अपिल गरेका छन् । सामाजिक सञ्जाल फेशबुकमार्फत दाहालले अविरल वर्षाको कारण भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन् ।

उनले भनेका छन्

विगत केही दिनयता मौसम प्रणाली पुनः सक्रिय भएपछि देशका पूर्वी तथा मध्य क्षेत्रहरूमा परेको अविरल वर्षाका कारण बाढी, डुबान र पहिरोबाट ठूलो जनधनको क्षति भएकोमा गहिरो दुःख व्यक्त गर्दछु।

इलाम, पाँचथर लगायत विभिन्न स्थानमा हालसम्म२७ जनाको ज्यान गएको र कैयौं वेपत्ता भएको अत्यन्त पीडादायी खबरले दुखित जबनाएको छ। त्यस्तै, रसुवामा पनि केही वेपत्ता हुनुका साथै देशका अन्य क्षेत्रमा धेरै घर, राजमार्ग तथा सडकहरू क्षतिग्रस्त भएका छन्। पशुबाली र अन्नबालीमा ठूलो क्षति पुग्नुका साथै जनजीवनमा गम्भीर असर परेको छ।

यस दुखद क्षणमा प्राकृतिक विपदाबाट ज्यान गुमाउने सबैप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु। घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु।

अझै पनि जोखिम पूर्ण रूपमा हटेको छैन। त्यसैले सबैमा उच्च सतर्कता र सावधानी अपनाउन अनुरोध गर्दछु। हाम्रो पार्टीका सबै तहका संरचनालाई उद्धार, राहत र पुनःस्थापनाको कार्यमा तत्काल सक्रिय हुन पुनः निर्देसित गर्दछु। साथै सबैस्तरका पार्टी कार्यालयमा सहायता कक्ष स्थापना गरी उद्दार, राहत र पुनःस्थापना कार्यमा थप सक्रिय हुन आह्वान गर्दछु।