काठमाडौंका नदीहरूमा पानीको बहाव घट्दै,जोखिम अझै कायमै

काठमाडौं। काठमाडौं उपत्यकाका नदीहरूमा पानीको बहाव केही कम भएपनि जोखिम अझै कायमै रहेको छ। आइतवार बिहानैदेखि वर्षा रोकिएसँगै काठमाडौं जनजीवन सामान्य बन्दै गएको छ।

नदीहरूमा पानीको बहाव केही कम भएपनि बाढीको जोखिम अझै रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। वागमती, विष्णुमती लगायतका नदीहरूको मुहान क्षेत्रमा वर्षा भइरहेकाले पनि बाढीको जोखिम नघटेको विभागले बताएको छ।

काठमाडौंको वागमती नदीमा अझै बाढी आइरहेको छ। शुक्रवार रातिदेखि परेको अविरल वर्षाका कारण काठमाडौं उपत्यकासहित देशभरको जनजीवन कष्टकर बनेको थियो। आइतवारबाट मौसम उघ्रिएको छ। साँझबाट देशभरकै मौसम खुल्दै जाने मौसमविद्हरूले बताएका छन्।

नदीले बगाएर ल्याएका रुख, हाँगाबिँगाहरू पुलमा अड्किँदा पानी थुनिएको छ। नेपाली सेना, शसस्त्र प्रहरी बल, नेपाल र नेपाल प्रहरीले नदीहरूबाट गेग्रान र बगाएर ल्याएका रुखहरू झिक्ने थुनिएको पानी खोल्ने काम गरिरहेको छ।