जेनजी मुभमेन्ट अलायन्सले माग्यो अख्तियार प्रमुखको राजीनामा

काठमाडौं । जेनजी मुभमेन्ट अलायन्सले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईसहित सम्पूर्ण आयुक्तहरूलाई तत्काल स्वेच्छिक राजीनामा दिन आग्रह गरेको छ । भ्रष्टाचारविरुद्धको अभियानलाई बलियो बनाउन यो कदम आवश्यक रहेको समूहको दाबी छ ।

अलायन्सले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘भदौ २३, २०८२ देखि सुरु भएको हाम्रो आन्दोलनको मुख्य उद्देश्य भ्रष्टाचार र दण्डहीनता अन्त्य गर्नु हो । तर, अख्तियारको नेतृत्वमा रहेका व्यक्तिहरूको नियुक्ति निष्पक्ष र लोकतान्त्रिक प्रक्रियाविना भएकोले आयोगको विश्वसनीयता गुमेको छ ।’ समूहका अनुसार, पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको सरकारले संसदीय सुनुवाइविना गरेको नियुक्तिले आयोगको स्वतन्त्रता र निष्पक्षतामाथि प्रश्न उठेको छ ।

विशेष अदालतको हालैको निर्णयलाई उद्धृत गर्दै अलायन्सले प्रमुख आयुक्त राईको ‘स्वार्थ द्वन्द्व र चयनात्मक अभियोजन’ माथि प्रश्न उठाएको छ । नेपाल आयल निगमको जग्गा खरिद, नक्कली भुटानी शरणार्थी र वाइडबडी विमान खरिद प्रकरणमा राईको संलग्नताले उनको नैतिक जिम्मेवारी स्थापित भएको समूहको ठहर छ ।

‘यी प्रकरणमा प्रत्यक्ष वा नियामक भूमिका रहेकाले राजीनामा नै आयोगको गरिमा पुनस्स्थापनाको बाटो हो,’ विज्ञप्तिमा भनिएको छ । सङ्घीय संसद् नभएकाले महाअभियोग प्रक्रिया सम्भव नभएको भन्दै समूहले राजीनामाको विकल्प सुझाएको छ । साथै, अन्तरिम सरकारलाई खुला आवेदनमार्फत निष्पक्ष नियुक्ति समिति गठन गरी योग्य आयुक्त नियुक्त गर्न आग्रह गरिएको छ । राजीनामा माग पूरा नभए असोज २१ मा अख्तियारमा औपचारिक निवेदन दर्ता गर्ने र शान्तिपूर्ण प्रदर्शन गर्ने अलायन्सको चेतावनी दिएको छ ।

जेनजी समूहले राई, प्रधानमन्त्री र राष्ट्रपति कार्यालयलाई इमेलमार्फत जानकारी गराएको जनाएको छ । ३९ जिल्लाका १२ जेनजी समूह सम्मिलित यो अभियानले भ्रष्टाचारविरुद्ध कडा कदम चाल्ने सङ्कल्प गरेको छ ।