गृहमन्त्रीले भागेको भनेका दिपक खड्का जलेको घरबाटै सार्वजनिक भए

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले देश छाडेर भागेको दाबी गरेको एकदिनपछि निवर्तमान ऊर्जमन्त्री दीपक खड्का आफ्नै निवासबाट सार्वजनिक भएका छन्।

जेनजी आन्दोलनका क्रममा जलाइएको आफ्नै निवासमा उनी सोमबार सार्वजनिक भएका हुन्। गृहमन्त्री अर्यालले नयाँ पत्रिका दैनिकसँगको अन्तर्वार्तामा नेपाली कांग्रेसका नेता खड्का देश छाडेर भागिसकेको दाबी गरेका थिए।

तर, खड्का काठमाडौंस्थित आफ्नो जलेको घरबाटै सार्वजनिक भएका हुन्। उनले गलत समाचार नदिन पनि अनुरोध गरेका छन्।

उनले भदौ २३ र २४ गतेको आन्दोलनले मुलुक नै नरहने हो कि भन्ने अवस्थामा पुगेको बताउँदै भने,हामी नेपाली भएर बाच्न पाउने कि नपाउने त्यो अवस्थामा छौँ । हिजोका घटना एक ठाउँमा राखौँ । तर अब मिलेर अघि बढ्नुको विकल्प छैन । नयाँ सरकार गठन भएको छ । त्यसलाई आत्मसात गरौँ । दलका शीर्ष नेताहरुले नै यस कुरालाई भनिसक्नुभएको छ।

उनले आफ्ना विषयमा पछिल्ला दिनमा जसरी समाचार आए त्यसले गलत सन्देश गएको बताए । ‘मेरा विषयमा जसरी समाचार आए । सत्तासिन मान्छेले भनेको सुनियो, त्यो गलत थियो,’ उनले भने।