माओवादी केन्द्र र एकीकृत समाजवादीबीच पार्टी यसरी हुँदैछ एकीकरण
काठमाडौं । नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबीच पार्टी एकीकरण हुने निश्चित भएको छ। माओवादीका एक नेताका अनुसार माओवादी केन्द्र र एकीकृत समाजवादीबीच अब पार्टी एकीकरणमा लगभग पक्का भएको हो।
नेतृत्वको विषयमा टुंगो लगाउन माओवादी संयोजक प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई जिम्मा दिइएको थियो। प्रचण्ड र अध्यक्ष नेपालबीच पार्टी एकताका लागि सहमत भएको वार्ता टोलीका एक सदस्यले बताएका छन्। उनले भने, ‘अब पार्टी एकीकरणका लागि कुनै अहसमति छैन।
त्यसो त निर्वाचन आयोगले दल दर्ताका लागि दिएको समयअघि नै दुई पार्टीबीच एकीकरण भइसक्ने बताइएको छ । पार्टीको चुनाव चिन्ह्बारे भने सहमति भइसकेको छैन। एकीकृत समाजवादीले कलम नै राखौँ भनिरहेको छ र माओवादी केन्द्रले अरु नै चुनाव चिन्ह राख्न भनेको समाजवादीका एक नेताले बताए।
उनका अनुसार पार्टी एकीकरणका लागि सिद्धान्त र नीति कार्यक्रमको विषय भने टुंगिएको छ। पार्टीको मार्गदर्शक सिद्धान्त माक्र्सवाद लेनिनवाद रहनेछ भने कार्यनीति तथा कार्यक्रम नेपाली विशेषतासहितको समाजवाद रहनेछ।
यस्तै, पार्टी एकीकरणका लागि माओवादी केन्द्रले माओवादलाई छाड्नेछ भने एकीकृत समाजवादीले यसअघि नै जनताको बहुदलीय जनवादलाई छाडेको छ। एकीकरणपछि पार्टीको नीति तथा लक्ष्य नेपाली विशेषतासहितको समाजवाद रहने नेताहरुले बताएका छन्।
एकीकरणपछि बन्ने पार्टीको नाममा टुंगो लाग्न भने बाँकी नै छ। तर नेपाल कम्युनिस्ट पार्टी समाजवादी वा नेपाली कम्युनिस्ट पार्टी समाजवादी नाम रहने छ। पार्टीको नामको पछाडि समाजवादी राखिने नेताहरूको भनाइ छ।
पार्टीको नाम, नीति र सिद्धान्तमा सहमति भएपछि नेतृत्वको विषयमा अन्तिम सहमति जुटाउन प्रचण्ड र माधवलाई दिइएको छ। नेतृत्वको विषयमा भने प्रचण्ड संयोजक र माधव नेपाल सहसंयोजक बन्ने एउटा मोडालिटी पेश गरिएको छ। दुई अध्यक्षको विकल्प अघि सारिएपनि त्यो मोडालिटी पहिले नै असफल भएकोले त्यसतर्फ जान नहुनेमा दुवै पक्ष सहमत छन्।
