महाराजगञ्जमा २ प्रहरीको हत्या गर्ने थप ५ जना पक्राउ

काठमाडौं । जेनजी आन्दोलका क्रममा महाराजगन्जमा प्रहरीको हत्या गरेको आरोपमा थप ५ जना पक्राउ परेका छन् ।

प्रहरी वृत्त महाराजगन्जमा कार्यरत असई मिलन राय र जवान उत्तम थापाको हत्या आरोपमा प्रहरीले २१ वर्षीय सोम गुरुङ, २१ वर्षीय राजीव गुरुङ, २१ वर्षीय युनिक श्रेष्ठ, १७ वर्षीय सुमित तितुङ र १६ वर्षीय दीपक मगरलाई पक्राउ गरेको हो।

उनीहरुले कुटपिट गरेर असई राय र जवान थापाको हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ। महाराजगन्जमा प्रहरीको हत्यामा संलग्न ४ जना आरोपीहरू यसअघि नै पुर्पक्षका लागि कारागार चलान भइसकेका छन्।

काठमाडौँ जिल्ला अदालतको आदेशपछि युवराज क्याप्छाकी, सोनाम तामाङ भन्ने बुद्धिलाल थिङ, होम प्रसाद पौडेल र टिकाराम बिक कारागार चलान भएका छन्।

प्रहरीको हत्यामा पक्राउ परेकाहरू विरुद्ध अनुसन्धान सकेर पूरक अनुसन्धान प्रतिवेदन पेस गरिने जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले बताए । पक्राउ परेका सबैलाई भद्रकालीस्थित प्रहरी परिसरमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।