पार्टी फुट्दैन, जनार्दन अराजक भए: प्रचण्ड
काठमाडौं। नेकपा (माओवादी केन्द्र) महाधिवेशन आयोजक समिति संयोजक पुष्पकमल दाहालले पार्टी नेता जनार्दन शर्माले सचिवालय बैठक बहिष्कार गर्नु अराजक र अलोकतान्त्रिक भएको बताएका छन्। उनले पार्टीभित्रको यो विवादले कुनै असर नपार्ने र पार्टी फुट्ने कुनै सम्भावना नरहेको दाबी गरेका छन्।
शनिवार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा वामपन्थी शक्तिहरूसँगको एकता प्रक्रियालाई टुङ्गो लगाउन बसेको सचिवालय बैठकमा नेता शर्माले असहमति जनाउँदै बीचमै बाहिरिएका थिए। बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै दाहालले भने, ‘केही हुँदैन, हाम्रो पार्टी एकजुट छ। जनार्दन पनि एक हुनुपर्छ, उनी हुन्छन् भन्ने हामीलाई विश्वास छ।
शर्माको बहिर्गमनबारे टिप्पणी गर्दै दाहालले भने,उहाँले आफ्नो विषय राख्नुभयो र हामीले ‘बस्नुस्, छलफल गरौँ’ भन्दा उठेर हिँड्नुभयो। उहाँको त्यो शैली नराम्रो हो।
यो न लोकतान्त्रिक हो, न राजनीतिक। यो एक प्रकारको अराजक तरिका हो।यसअघि, नेता शर्माले बैठक छाड्दै गर्दा हालको एकता प्रक्रियाले पार्टीलाई वैचारिक विचलन र विघटनतर्फ लैजाने आरोप लगाएका थिए।
