उथलपुथल ल्याउने जेनजीहरू नै संकटमा, पुराना पार्टीले फेरि नियन्त्रणमा लिन खोज्दै

काठमाडौं। भदौ २३ र २४ गते दुई दिनमा सडकमा उत्रिएको जेनजी आन्दोलनले नेपाली राजनीतिमा ठूलो हलचल ल्याएको ६३ दिन बितिसकेको छ। भ्रष्टाचार र बेथिति विरुद्ध सुरु भएको यो आन्दोलनले सत्ताको समीकरण मात्र होइन, दलहरूको आन्तरिक संरचनासम्म परिवर्तन गर्न बाध्य तुल्याएको छ। तर, आन्दोलनकारीहरूले नै समर्थन गरेको सरकारको कार्यसम्पादनप्रति असन्तुष्टि बढ्दै गएको छ भने आन्दोलनका केही अगुवाहरू राजनीतिक दलहरूबाट नै उपेक्षाको शिकार भइरहेका छन्।

जेनजी आन्दोलनको सबैभन्दा प्रत्यक्ष प्रभाव सत्ता परिवर्तनमा देखियो। आन्दोलनको दबाबमा परेर तत्कालीन सत्तारूढ दलहरू सत्ताबाहिर निस्कन बाध्य भए। तर, आन्दोलनको असर त्यहीँसम्म सीमित रहेन। नेपालको राजनीतिक दलहरूको संरचना र नेतृत्वमा नै परिवर्तनको लहर चल्न थाल्यो।

नेकपा माओवादी जस्तो स्थापित राजनीतिक ब्रान्डले समेत आफ्नो पहिचान नै बदल्नुपर्ने अवस्था आयो। दलले नाम र चुनाव चिह्न परिवर्तन गरेर आफूलाई नयाँ रूपमा प्रस्तुत गर्न बाध्य भयो। यो घटनाले नेपाली राजनीतिमा आन्दोलनको प्रभाव रहेको प्रष्ट पार्छ।

नेकपा एमालेमा पनि आन्तरिक हलचल बढेको छ। अध्यक्ष केपी शर्मा ओलीको नेतृत्व विरुद्ध खुलेर बोल्न नसक्ने ठानिएका नेताहरू समेत अहिले नेतृत्व परिवर्तनका लागि स्वर उठाउन थालेका छन्। पार्टीभित्र ओलीको एकछत्र अधिकारप्रति प्रश्न उठ्न थालेको यो अवस्था जेनजी आन्दोलनले सिर्जना गरेको राजनीतिक वातावरणको परिणाम हो। नेपाली कांग्रेसमा पनि पार्टी सुधारको आवाज चर्को हुँदै गएको छ। दलका विभिन्न तहका नेता तथा कार्यकर्ताहरूले पार्टी संरचना, कार्यशैली र नेतृत्व चयन प्रक्रियामा आमूल परिवर्तन आवश्यक रहेको बताइरहेका छन्।

आन्दोलनपछि गठन भएको सरकारबाट आन्दोलनकारीहरू नै सन्तुष्ट हुन नसकेको स्थिति देखिएको छ। जेनजी आन्दोलनका प्रमुख अगुवा सुदन गुरुङले खुलेर गृहमन्त्री ओमप्रकाश अर्यालको कार्यसम्पादनप्रति असन्तुष्टि जनाइरहेका छन्। गुरुङका अनुसार, गृहमन्त्रीले आन्दोलनकारीहरूले अपेक्षा गरेअनुरूपको काम गर्न सकेका छैनन्। यो असन्तुष्टि एउटा महत्त्वपूर्ण प्रश्न खडा गर्छ कि के आन्दोलनबाट सिर्जना भएको सरकार आन्दोलनकारीहरूको आकांक्षा पूरा गर्न सफल भइरहेको छ वा त्यो पनि परम्परागत राजनीतिक संस्कृतिमै फसेको छ।

आन्दोलनका केही अगुवाहरूको राजनीतिक यात्रा चाहिँ अपेक्षित रूपमा अगाडि बढ्न सकेको छैन। मिराज ढुङ्गानाले आफूलाई आन्दोलनको नेतृत्वकर्ता मध्येको एक भनेर दाबी गर्दै आएका छन्। तर, उनी गरिखान देऊ अभियानमा लाग्ने भन्दै गुमनाम हुँदै गएको अवस्थामा रक्षा बम दलका नेताहरूबाट नै हेपिन थालेकी छन्।

यो घटनाले नेपाली राजनीतिको एउटा पुरानो प्रवृत्तिलाई फेरि पुष्टि गर्छ जसमा जनआन्दोलनका अगुवाहरूलाई राजनीतिक दलहरूले आफ्नो सुविधाअनुसार प्रयोग गर्ने र पछि उपेक्षा गर्ने गरेको पाइन्छ। ढुङ्गानाको अवस्था राजनीतिक दलहरूको संरचनामा प्रवेश नगरेसम्म राजनीतिक भविष्य असुरक्षित रहेकाे देखिन्छ।

जेनजी आन्दोलनपछि नेपालका लगभग सबै राजनीतिक दलहरू आफूलाई परिवर्तित र सुधारिएको देखाउन प्रयत्नशील छन्। नाम बदलेर, नयाँ नारा दिएर र नेतृत्व परिवर्तनको प्रतिबद्धता जनाएर दलहरू आफ्नो छवि सुधार्न खोजिरहेका छन्। तर, वास्तविक परिवर्तन संरचनात्मक र व्यवहारगत स्तरमा आएको छ कि छैन भन्ने प्रश्न अझै खुला छ। सत्ता परिवर्तन र दलीय पुनर्संरचनाले मात्र आन्दोलनको उद्देश्य पूरा हुँदैन।

आन्दोलनले उठाएका भ्रष्टाचार र बेथितिको मुद्दा सम्बोधन भएको छैन भने आन्दोलनकारीहरूको असन्तुष्टि बढ्नु स्वाभाविक छ। नयाँ सरकारले यी मुद्दालाई कसरी सम्बोधन गर्छ, त्यसले नै आन्दोलनको सफलता र असफलताको मूल्याङ्कन हुनेछ।

जेनजी आन्दोलनले नेपाली राजनीतिमा निस्सन्देह ठूलो प्रभाव पारेको छ। सत्ता परिवर्तन,दलीय पुनर्संरचना र नेतृत्वमाथिको प्रश्न उठ्नु यसका प्रत्यक्ष परिणाम हुन्। तर, सरकार दुइ पहिना लामाे यात्रामा देखिएको छ,परिवर्तनको बाटो सजिलो छैन। नयाँ सरकारप्रति आन्दोलनकारीहरू नै असन्तुष्ट छन् भने केही आन्दोलनका अगुवाहरू राजनीतिक दलहरूबाट उपेक्षित छन्।

यस्तो अवस्थामा, जेनजी आन्दोलनको वास्तविक सफलता त्यसले उठाएका मुद्दाहरूको दीर्घकालीन समाधानमा निर्भर गर्नेछ। परिवर्तनको संवाहकहरूलाई सम्मान गर्ने र उनीहरूका आवाजलाई राजनीतिक प्रणालीमा समावेश गर्ने परम्परा विकास गर्न सकियो भने मात्र जेनजी आन्दोलन नेपाली राजनीतिको इतिहासमा सार्थक मोडको रूपमा स्थापित हुनेछ।

त्यस्तै परिवर्तन र नयाँ राजनीतिक संस्कृतिको नारा बोकेर अघि बढेका जेनजी पुस्ताताहरू अहिले आफैं अप्ठ्यारोमा परेका छन्। पुराना पार्टी संरचनाभित्रको भ्रष्टाचार, सत्ताको खेल र नेताको वर्चस्वका कारण जेनजी पुस्ताको आवाज क्रमशः दबिँदै गएको महसुस हुन थालेको छ।

‘सिस्टम परिवर्तनको आदर्शका साथ अघि बढेका जेनजीहरू अहिले कांग्रेस र एमालेजस्ता ठूला दलका आन्तरिक र बाह्य दबाबमा फसिरहेका छन्। पुराना नेताहरूले उनीहरूलाई नेतृत्व तहमा पुग्न नदिने रणनीति अपनाएका छन् भने केही जेनजी नेताहरू स्वयंम दलगत स्वार्थमा फँस्न थालेका छन्।

जेनजी पुस्ताले ल्याएको राजनीतिक उथलपुथल अब दिशाहीन बन्न थालेको छ। उनीहरूलाई पुराना दलहरूले योजनाबद्ध रूपमा पेलिरहेका छन्, र भ्रष्टाचारको जालभित्र तानिरहेका छन्।

युवा कार्यकर्ताहरूले भने अब नेतृत्वको स्वच्छता र पारदर्शिताका लागि संघर्ष जारी राख्ने बताएका छन्। उनीहरूका अनुसार जेनजीको आन्दोलनलाई दबाउने प्रयास जसरी हुँदैछ, त्यसले फेरि नयाँ असन्तुष्टि र आन्दोलनको बाटो खोल्ने सम्भावना बढेको छ।

जेनजी पुस्ताले सुरु गरेको परिवर्तनको उथलपुथललाई पुराना शक्तिहरूले नियन्त्रणमा लिन थालेका छन्। सत्ता र स्वार्थको खेलबीच आदर्श बोकेका युवाहरू नै अप्ठ्यारोमा परेका छन्।