सुकुम्वासी मोर्चाका अध्यक्ष परिश्रमी पक्राउ
काठमाडौं । संयुक्त राष्ट्रिय सुकुम्वासी मोर्चाका कार्यवाहक अध्यक्ष नारायण परिश्रमी पक्राउ परेका छन्। सरकारले थापाथली, मनोहरा र सिनामंगल क्षेत्रका सुकुम्वासी बस्ती हटाउन लागेको छ ।
तीन वर्षअघि त्यही क्षेत्रमा पेट्रोल बमलगायत प्रहार गरेको भन्ने विषयमा अनुसन्धान गर्नका लागि उनलाई होल्ड गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईले जानकारी दिए।
यसअघि बालेन शाह काठमाडौं महानगर प्रमुख हुँदा ती क्षेत्रका बस्ती हटाउने प्रयास गरेका थिए । तर, त्यसबेला काठमाडौं महानगर प्रहरी सुकुम्बासी बस्ती क्षेत्रमा जाँदा महानगर प्रहरीमाथि ढुंगामुडा भएको थियो। उक्त घटनामा घाइते भएका महानगर प्रहरीहरूले सुकुम्बासी नेताहरूविरूद्ध प्रहरीमा उजुरीसमेत दिएका थिए।
प्रहरीले हिजो साँझ बागमती किनार आसपासमा माइकिङ गरेर शुक्रबार साँझसम्म बस्ती खाली गर्न भनेपछि आज बिहानैदेखि सुकुम्बासीहरूले सरकारको निर्णयविरूद्ध प्रदर्शन गरिरहेका छन्।
