रोमाञ्चक जितसँगै सुदूरपश्चिमको प्रभावशाली सुरुआत

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा सुदूरपश्चिम रोयल्सले बुधबार काठमान्डु गोर्खाजमाथि रोमाञ्चक २९ रनको जित निकालेको छ । यससँगै कीर्तिपुरको त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुदूरपश्चिमले प्रभावशाली विजयी सुरुआत लिएको छ।

जितका लागि १ सय ४८ रन पछ्याएको काठमान्डुले १६.५ ओभरमा सबै विकेट गुमाएर १ सय १८ रन मात्र जोड्न सक्यो। यो जितपछि सुदूरपश्चिमको एक खेलबाट दुई अंक भएको छ। काठमाडौंको पनि दुई खेलबाट दुई अंक नै रहेको छ। उसले आफ्नो पहिलो खेलमा जनकपुर बोल्ट्सलाई हराएको थियो।

काठमान्डुका लागि ओपनर आकाश त्रिपाठीले ३० बलमा ३४ रन बनाए । उनले हरमित सिंहको बलमा समातिनु अगाडि एक चौका र दुई छक्का प्रहार गरे । यस्तै जोन सिमसनले १८ बलमा २४ रनको योगदान गरे र त्यसमा दुई चौका र एक छक्का सामेल थियो ।

भीम सार्कीले १२ र मिलिन्द कुमारले ११ रने जोडे। उनीहरूलाई छाडेर अरु ब्याटरले गतिलो योगदान दिन सकेनन् र काठमान्डुले नियमित अन्तरमा विकेट गुमाइरह्यो । सुदूरपश्चिका बलरमध्ये हेमन्त धामी, स्कट कुग्लेन र हरमितले दुई दुई विकेट लिए।

त्यस अगाडि पहिले ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले २० ओभरमा सबै विकेट गुमाएर १ सय ४७ रन बनाएको थियो । खराव सुरुआत लिएकोसुदूरपश्चिमले सम्हालिँदै चुनौतीपूर्ण लक्ष्य तयार पार्न सफल भएको हो।