भक्तपुरका सरकारी सम्पत्ति र सम्पदा एमाले र नेमकिपाले यसरी सिध्याए
रुषा थापा
वि.सं.२०४३ असार २ गते मरिचमान सिंह श्रेष्ठको नेतृत्वमा मन्त्रिपरिषद् गठन भयो । उनी नेतृत्वको सरकारमा स्व.शैलेन्द्रकुमार श्रेष्ठ परराष्ट्र र भूमि सुधारमन्त्री थिए । परराष्ट्रमन्त्री भएपछि उनले काभ्रेपलाञ्चोक र भक्तपुरको सीमानामा पर्ने नगरकोटलाई क्याबिनेटमार्फत पर्यटकीय क्षेत्र घोषणा गराए ।
नगरकोट भक्तपुर क्षेत्र नम्बर १ अर्थात् चाँगुनारायण नगरपालिकाअन्तर्गत पर्दछ । पर्यटकीय क्षेत्र घोषणा हुनुअघि यो क्षेत्रमा एक सय आनामा समेत जग्गा बिक्दैन्थ्यो भन्नेहरु अझै भेटिन्छन् । तर, अहिले यही ठाउँमा जग्गा आनाकै करोडौं छ । नगरकोटमा स्वदेशीदेखि विदेशी पर्यटकसम्म आउने गरेका छन् ।
राजनीतिक दल, सरकारी निकायहरुले यहाँ कार्यक्रमसमेत गर्ने गरेका छन् । यदि स्व.शैलेन्द्रकुमार श्रेष्ठले नगरकोटलाई पर्यटकीय क्षेत्र घोषणा नगरिदिएको भए आज न यहाँ जग्गाको मूल्य बढ्थ्यो न स्वदेशी, विदेशी पर्यटकहरु त्यहाँ जान्थे । नगरकोटमा दैनिक हजारौं पर्यटक पुग्छन् । विभिन्न स्थल घुमफिर गर्छन् ।
त्यसबापत उनीहरुले चाँगुनारायण नगरपालिकालाई शुल्क तिर्ने गरेका छन् । नगरपालिकाले वार्षिक करोडौं रकम पर्यटकबाट मात्रै उठाउने गरेको छ । भक्तपुरमा थुप्रै ऐतिहासिक, सांस्कृतिक मठमन्दिर छन् । पाँच तलेदेखि विश्व सूचीमा सूचीकृत धेरै मठमन्दिर यहाँ छन् । तर, ती मठमन्दिर भक्तपुर नगरपालिकाले बनाएको होइन ।
०४६ सालअघिको सरकार वा राजाको पालामा बनेको हो । भूमि ऐन, २०२१ सालमा राजा महेन्द्रले ल्याएका थिए । ०४६ सालमा पञ्चायती व्यवस्था ढलेर बहुदलीय व्यवस्था आयो । त्यसको अन्तरिम सरकारका प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई भए । उनले ०४८ सालमा पहिलो पटक चुनाव गराए ।
भक्तपुर क्षेत्र नम्बर १, बाट मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले चुनाव जिते । ०५१, ०५६, ०६४, ०७० मा पनि उनैले जिते भने ०७४ र ०७९ मा उनैले उठाएका प्रेम सुवालले चुनाव जिते । ०४६ सालको परिवर्तनपछि विशेषतः भक्तपुर क्षेत्र नम्बर १, मा मजदुर किसान पार्टीको कब्जा छ ।
सो पार्टीका अध्यक्ष बिजुक्ँछे र सुवालले लगातार चुनाव जितिरहेका छन् । यसरी पटकपटक चुनाव जितेपनि उनीहरुले भक्तपुरमा सिन्कोसमेत भाँचेका छैनन् । उल्टै भएका सरकारी, सार्वजनिक, गुठी, ऐलानी, मठमन्दिर, राजपरिवारको जग्गा आफ्ना कार्यकर्तालाई कब्जा गर्न लगाइरहेका छन् । भक्तपुरको माटो नेपालकै खेतीयोग्यमा पर्दछ । तर, बिजुक्ँछे र सुवालले आफ्नो फाइदा वा भोटका निम्ति प्लटिङ गर्न लगाए भने बाँकी भएको जमिन पनि ईट्टा भट्टा सञ्चालन गर्न दिएर उब्जनी नै नहुने खालको बनाइदिएका छन् ।
भक्तपुर उपत्यकाभित्र छ । नेपालका ७७ जिल्लामध्ये सबैभन्दा सानो जिल्ला भक्तपुर नै हो । जिल्ला सानो भएपनि यहाँ सरकारी, सार्वजनिक, गुठी, ऐलानी, राजपरिवार, हदबन्दी बढी, वनजंगललगायतका जग्गा थुप्रै थियो । दुर्भाग्य, बिजुक्ँछे र सुवालको मिलिभगतमा ती सबै जग्गा व्यक्तिका नाममा लगिएको छ । भोटका निम्ति यिनीहरुले सरकारी सम्पत्ति आफ्ना कार्यकर्तालाई बाँडे ।
०६४ मा भक्तपुर क्षेत्र नम्बर २, मा पनि मजदुर किसान पार्टीले चुनाव जितेको थियो । त्यसअघि वा पछि यहाँ काँग्रेस र एमालेले चुनाव जित्दै आएको छ । क्षेत्र नम्बर २ अन्तर्गत सूर्यविनायक नगरपालिका वडा नम्बर ७, स्थित लिखानारायण मन्दिरको जग्गा एमाले नेता महेश बस्नेतले कब्जा गरेका छन् ।
सो मन्दिरको हजारौं रोपनी जग्गामा बस्नेतको रजगज चलिआएको छ । मन्दिर छेउमा बस्नेतले पिकनिक स्पोट सञ्चालन गरेका छन् । त्यहाँ पुग्ने एक जनासँग उनका कार्यकर्ताले एक हजार रुपैयाँ असुल्छन् । गुण्डुमा महेश बस्नेतको गुण्डागर्दी चलिआएको छ । विकासको नाममा वनजंगल जडानी गरिएको छ । जसले जोखिम बढाएको छ ।
अध्ययन नै नगरी भिरपाखा काटेर बाटो बनाउँदा बस्ती नै जोखिममा परेको छ । यो वडाका अध्यक्ष रविन्द्र सापकोटा र सूर्यविनायक नगरपालिका मेयर वासुदेव थापा पनि एमाले नै हुन् । त्यसकारण यहाँ महेश बस्नेतलाई जेसुकै गर्न पनि छुट भएको छ । गुण्डुको हजारौं रोपनी सरकारी जग्गामा बस्नेतको रजार्इं चलेको छ ।
आफूविरुद्ध बोल्नेबित्तिकै उनी गुण्डा लगाएर कुटपिट गर्छन् । त्यसारण गुण्डुका स्थानीयले बस्नेतको विरोधमा चुइक्कसमेत आवाज निकाल्दैनन् । भक्तपुर क्षेत्र नम्बर २, मा जतिपनि जग्गा प्लटिङ भएको छ, त्यसमा महेश बस्नेतकै लगानी पाइन्छ । पछिल्लो समय एमाले अध्यक्ष केपी शर्मा ओलीको प्रिय पात्रो बनेका उनको पृष्ठभूमि केलाउने हो भने खतरनाक गुण्डा हुन् । हप्ता उठाउने ।
०७१ सालअघिको सरकारले उपत्यकाबाट इट्टाभट्टा हटाउने, क्रसर उद्योग बन्द गर्ने निर्णय गरेको थियो । ०७१ सालमा महेश बस्नेत उद्योगमन्त्री बने । उनले व्यवसायीसँग अर्बौ घुस बुझेर उपत्यकाबाट इट्टाभट्टा हटाउने र क्रसर उद्योग बन्द गर्ने निर्णय उल्टाएनन् मात्रै मदिराको लाइसेन्ससमेत खोलिदिए । भक्तपुरमा सरकारी सम्पत्ति दोहनमा एमाले र मजदुर किसान पार्टी नै प्रमुख भूमिकामा देखिन्छन् ।
यहाँ जतिपनि सार्वजनिक सम्पत्ति कब्जा भएको छ, त्यो सबै एमाले र मजदुरका कार्यकर्ताले गरेका छन् । हुन त स्थानीय जनप्रतिनिधि पनि त्यस्तै भए । सूर्यविनायक नगरपालिकाका मेयर वासुदेव थापा काभ्रेको साँगास्थित पतञ्जली जग्गा प्रकरणमा मुछिएका छन् । एमालेमा आबद्ध भएकै कारण यस प्रकरणमा उनीमाथि मुद्दा चलेन ।
उनले भक्तपुरका थुप्रै सरकारी जग्गा एमाले कार्यकर्ताको नाममा लैजान सहयोग पुर्याएको स्थानीयको आरोपसमेत छ । यस्तै, सूर्यविनायक नगरपालिका वडा नम्बर ५, का अध्यक्ष राजकुमार जोशीले सुशीलभैरवथान मन्दिरकै जग्गा कब्जा गरेर मन्दिरभन्दा अग्लो घर बनाएका छन् । उनका भाई र मजदुर किसान पार्टीका कार्यकर्ताले वडा नम्बर ५, को थुप्रै सरकारी जग्गा कब्जा गरेको घर बनाएको पाइन्छ ।
सूर्यविनायक नगरपालिका पहिले भाडामा बसेको घर वरपरका सयौं रोपनी सरकारी जग्गा पनि कब्जा भएको छ । थापा, नेवारलगायत जातजातिका मान्छेहरुले त्यहाँ सरकारी जग्गा हड्पेर ठूल्ठूला घर ठड्याएका छन् । हाल नगरपालिका रहेको वा छेउको सडक विभाग आसपासका धेरै सरकारी घरमा पनि व्यक्तिहरुले घर बनाएका छन् ।
एता, भक्तपुर नगरपालिका वडा नम्बर १, सल्लाघारी आर्मी ब्यारेक, चङ्गा गणेश, दुवाकोट जाने ट्याम्पो पार्क, हनुमन्ते खोला (सिर्जनानगर) वारिपारि र राधेराधेको भाटभटेनी, निर्माणाधीन १५ तले भवन, इजिवे र बुढाथोकी ड्राइभिङ सेन्टर तथा राजेश हार्डवेयर सञ्चालित जग्गा २०२१ सालमा नापी हुँदा सरकारी, गुठी, ऐलानी भनि लेखिएको थियो ।
०२९ सालसम्म यहाँ एउटै घर बनेका थिएनन् । ०३२ सालमा मजदुर किसान पार्टीका एक कार्यकर्ता सल्लाघारी चौर छेउ छाप्रो हालेर बस्न थाले । तीनै व्यक्तिले ०३५ सालमा ढुंगा माटोले घर बनाए माथि टायलको छानो हालेर । उनले घर बनाएपछि अन्यले पनि यो जग्गा कब्जा गर्न थाले । र, ०४६ सालपछि मजदुर किसान पार्टीको यो क्षेत्रमा रजगज चल्यो ।
उसले ०४६ सालअघि आफ्ना कार्यकर्तालाई कब्जा गर्न लगाएको जग्गा बहुदलीय व्यवस्था आएपछि उनीहरुकै नाममा दर्ता गराइदिए । अहिले यहाँ ७६ जिल्लाका जनताले जग्गा किनेर घर बनाएका छन् । यहाँ एक आना जग्गाकै मूल्य २५ लाखदेखि करोडौं छ । सल्लाघारी चौरअगाडि मजदुर किसान पार्टीका कार्यकर्तासमेत रहेका स्थानीय विकुलाल खिउँजुले ठूलो घर बनाएका छन् । जहाँ किरानादेखि फलफूल, चिया पसल, ब्यूट्री पार्लरसम्म सञ्चालन भएको छ । १९८० र २०२१ को नक्सा हेर्ने हो भने खिउँजुको घर भएकै ठाउँमा तीन वटा ढुंगेधारा देखिने स्थानीय बताउँछन् ।
तर, उनले ती ढुंगेधारा मासेर घर बनाए र मजदुर किसान पार्टीको आडमा सम्पन्नता प्रमाणपत्रसमेत लिए । सल्लाघारी तीनकुनेमा राजा महेन्द्रले २०२४ सालमा एक सय आठ रोपनी दुई आना एक दाम जग्गा स्थानीयसँग प्रतिरोपनी एक हजार रुपैयाँमा किनेका थिए । अहिले यो जग्गा बढीमा ६०–६५ रोपनी मात्र छ ।
अरु जग्गा व्यक्तिका नाममा गइसक्यो भने बाँकी भएको जग्गामासमेत भक्तपुर नगरपालिकाको रजाईं चलेको छ । नेपाल ट्रष्टको स्वामित्वमा रहेको यो जग्गामा नगरपालिका ख्वप विश्वविद्यालय बनाउने र मजदुर किसान पार्टीका कार्यकर्ताका छोराछोरीलाई मात्र पढाउने दाउमा छ ।
सरकारले कुनै पनि हालतमा यो जग्गा भक्तपुर नगरपालिकालाई दिनुपर्छ । यसरी दुई राजनीतिक दल (एमाले र मजदुर किसान पार्टी) ले भक्तपुरलाई सिध्याए । यहाँको सरकारी सम्पत्ति सबै दोहन गरे । अब सुशीला कार्की नेतृत्वको सरकारले नारायणमान बिजुक्ँछे, प्रेम सुवाल, मेयर सुनिल प्रजापति, वासुदेव थापा, एमाले नेता महेश बस्नेतलगायतलाई कारबाही हुनुपर्छ र व्यक्तिका नाममा गएका सरकारी जग्गा पुनः राज्यकै स्वामित्वमा ल्याउनुपर्छ ।
