जनता जागरूक नभए देश फेरि सङ्कटमा पर्न सक्छ: प्रचण्ड

पोखरा। नेपाली कम्युनिस्ट पार्टीका नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता सचेत र सङ्गठित नभए देश पुनः गम्भीर सङ्कटमा पर्न सक्ने चेतावनी दिएका छन् ।

आइतबार पोखराको प्रदर्शनी केन्द्रमा आयोजित ‘राष्ट्रिय एकता सन्देश सभा’ लाई सम्बोधन गर्दै उनले जनता जागरूक नभए र राष्ट्रियताप्रति बलियो प्रतिबद्धता देखाएनन् भने देश फेरि ठूलो सङ्कटमा फस्न सक्ने बताएका हुन् ।

प्रचण्डले वर्तमान समयमा मुलुक गम्भीर राष्ट्रिय सङ्कटको घेरामा रहेको बताउँदै राष्ट्रिय स्वाधीनता र सुरक्षा दिन प्रतिदिन कमजोर बन्दै गएको दाबी गरे । उनले सम्पूर्ण देशभक्त, वामपन्थी तथा कम्युनिस्ट शक्तिहरू एक ठाउँमा उभिनुको विकल्प नरहेको बताए ।

उनले कांग्रेस र एमालेको लामो समयको “दुई तिहाइ” शासनका बाबजुद जनताले केही प्राप्त गर्न नसकेको टिप्पणी गरे । ‘कांग्रेस(एमालेको शासनकालमा राष्ट्र झण्डै धरापमा पुग्यो ।

हामी सरकारमा हुँदा भ्रष्टाचारविरुद्ध कडा कदम चाल्न खोजेका थियौँ, तर हामीलाई सरकारबाटै हटाइयो । भ्रष्टाचार र राष्ट्रिय स्वाधीनताको पक्षमा लड्न पनि शक्ति दिइएन,’ प्रचण्डले भने ।

उनले पार्टीले अघि सारेको ‘राष्ट्रिय एकता अभियान’ कुनै निर्वाचन जित्ने रणनीति मात्र नभई राष्ट्र रक्षा, स्वाधीनता संरक्षण र समृद्धिको बलियो आधार निर्माणका लागि भएको स्पष्ट पारे ।

‘चुनाव त हामी जित्छौँ, यो कुरामा कुनै शङ्का छैन । तर राष्ट्र बचाउन जनताको व्यापक राष्ट्रिय एकता अहिलेको सबैभन्दा ठूलो आवश्यकता हो,’ प्रचण्डले भने।