एमालेले पोखरामा कार्यक्रम बिथोल्न खोज्यो: सुदन गुरुङ

काठमाडौं । हामी नेपाली अभियानका संयोजक सुदन गुरुङले आफ्नो पोखरा भ्रमणलाई लिएर नेकपा एमाले र केही समूहले अवरोध गर्न खोजेको आरोप लगाएका छन् । उनले सामाजिक सञ्जालमार्फत आफूहरू पोखरा निस्किएको खबर पाएपछि कार्यक्रम बिथोल्ने प्रयास भइरहेको दाबी गरेका हुन् ।

उनले पोखरामा जनेजीको संगठन विस्तार र आम नागरिकसँग भेटघाटका लागि आफूहरू निस्किएको थाहा पाएपछि केही समूह र एमालेले कार्यक्रम बिथोल्न अथक प्रयास गरिरहेको दाबी गरेका हुन् ।

उनले भनेका छन्, ‘पोखरामा जेन–जी भाइबहिनीहरूको संगठन बलियो बनाउन र देशप्रेमी पोख्रेली आमा–बुबा, दाजुभाइ तथा दिदीबहिनीहरू भेट्न हामी पोखरा निस्कियौँ। तर, हामी आउने खबर पाएदेखि केही समूह र एमालेले कार्यक्रम बिथोल्न अथक प्रयास गरिरहेको खबर पाएँ।

विगतमा पनि देशका लागि लडेर आएको स्मरण गराउँदै गुरुङले विपक्षीहरूको अवरोधले आफ्नो अभियान नरोकिने स्पष्ट पारेका छन् । साथै उनले कसैसँग सामना गर्न आफूहरू पछि नहट्ने चेतावनी समेत दिएका छन्।

‘हामी हिजो देशका लागि लडेर आएका हौँ, आज अरू कसैसँग सामना गर्न डराउने प्रश्नै छैन,उनले भनेका छन्, ‘हामी सधैं सत्य र देशको पक्ष उभिन्छौँ।’ गुरुङले युवाहरूको आवाजसँग जोडिएर आफूहरू अझ बलियो हुने र गर्वका साथ झण्डा उठाएर पोखरा प्रवेश गर्ने बताएका छन् ।