सर्लाही-४ लाई मुलुक कै उत्कृष्ट क्षेत्र बनाउँछु: गगन थापा

सर्लाही। नेपाली कांग्रेसका सभापति एवं सर्लाही क्षेत्र नम्बर ४ का उम्मेदवार गगन थापाले आफ्नो क्षेत्रलाई उत्कृष्ट बनाउने बताएका छन्। सर्लाही ४ का मतदातालाई सम्बोधन गर्दै उनले आफ्नो सम्पूर्ण तागत लगाएर क्षेत्रको विकास गर्ने बताए।

थापाले भने ‘साथीहरूसँग म जोडिन जान्छु। उहाँहरूको तागत म प्रयोग गर्दै जान्छु। अनि बाहिर मैले बनाएको जुन सम्बन्ध छ, त्यो सम्बन्ध बनाएको आधारमा म उनीहरूलाई के भन्ने हो भने। मेरो क्षेत्र यो हो अब।

यहाँको शिक्षामा मैले काम गर्नुछ,यहाँको स्वास्थ्यमा मैले काम गर्नुछ,यहाँको कृषिमा मैले काम गर्नुछ। यहाँको खेतमा मैले काम गर्नुछ, सिँचाइमा मैले काम गर्नुछ।

आफ्नो राजनीतिक यात्राबारे प्रस्ट पार्दै अझै ८/१० वर्ष सक्रिय राजनीतिमा रहने थापाले बताए । यस अवधिमा सर्लाही ४ लाई उदाहरणीय क्षेत्र बनाउने उनको भनाइ छ।

उत्कृष्ट काम गरेको क्षेत्र सर्लाहीको क्षेत्र नम्बर ४ हो भन्ने कुरा मैले बनाउँछु,उनले भने,यो कुरामा तपाईँहरू निश्चिन्त भए हुन्छ। किनकि मेरो त भर्खर यात्रा सुरु हुँदैछ।

कांग्रेसको सभापति भइसकेको उल्लेख गर्दै उनले आगामी दिनमा पार्टी नेतृत्वका लागि पनि आफू सक्रिय रहने बताए। म त भर्खर कांग्रेसको सभापति भएको छु विशेष महाधिवेशनबाट। फेरि कांग्रेसको अधिवेशन गर्नुछ,फेरि मलाई सभापति बन्नुछ, अर्को ८–१० वर्ष त मलाई सक्रिय राजनीतिमा रहनु छ,उनले भने।

थापाले शिक्षा, स्वास्थ्य, कृषि र सूचना प्रविधि लगायतका क्षेत्रमा टिम बनाएर काम गर्ने योजना सुनाए। उनका अनुसार टिमहरूले क्षेत्रका समस्या र सम्भावनाबारे अध्ययन गरिरहेका छन्।