प्रचण्डको दाबी:जितेकै ठाउँमा रास्वपा ओरालो लाग्दैछ, अब स्टन्ट र भ्रमले चल्दैन

काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय स्वतन्त्र पार्टी २०७९ सालमा जितेकै ठाउँमा पनि ओरालो लागेको बताएका छन् ।

सामाजिक सञ्जालमा स्टन्ट गर्नेहरूलाई यसपटकको निर्वाचनमा नराम्रो हुने पनि उनले उल्लेख गरेका छन् ।

काठमाडौं उपत्यकामा पनि रास्वपा कमजोर अवस्थामा रहेको प्रचण्डले दाबी गरे । ‘सोसियल मिडियावाला, स्टन्टवाला भन्ने गरेका छौँ हामीले, पहिला जहाँ जिते, त्यहाँ उनीहरूको अवस्था ओरालो छ’, उनले भने, ‘तपाईं उपत्यकामै हेर्नुभयो भने उनीहरूको अहिले राम्रो छैन । नयाँ-नयाँ ठाउँमा भ्रम दिन सजिलो हुँदो रहेछ ।

पार्टी कार्यालय पेरिसडाँडामा आयोजित संघीय सम्पर्क समिति केन्द्रीय निर्वाचन परिचालन समितिका अगुवासँगको अन्तरक्रियामा बोल्दै उनले यो निर्वाचनमा नेकपा पहिलो बन्ने बताए ।

७७ वटै जिल्ला र सबै निर्वाचन क्षेत्रमा आफ्नो दलले राम्रो प्रभाव पार्नसक्ने हैसियत राखेको दाबी उनले गरेका छन् ।

‘७७ वटै‌ जिल्ला र सबै निर्वाचन क्षेत्रमा प्रभावित गर्न सक्ने हाम्रो हैसियत छ’, उनले भने, ‘पार्टीले अहिले काठमाडौं उपत्यका मात्रै होइन, ठूला सहर पोखरा, विराटनगर, भरतपुर, नेपालगन्ज र धनगढीमा उनीहरूलाई पनि केन्द्रित गर्ने अभियान चलाइरहेका छौँ ।

पछिल्लो समय दाहालले नेकपा एक नम्बर बन्ने दाबी गर्दै छन्।‘मैले भावनामा आएर यो भनेको होइन । हामी देशभर घुम्दा जनताको तहमा जे स्थिति बन्दै गएको छ, त्यसलाई हेर्दा पहिलो बन्छौँ’, उनले भने, ‘मैले विपक्षीहरूका कुरा सुन्दा, राष्ट्रिय र अन्तर्राष्ट्रिय संस्थाहरूका सर्भे रिपोर्ट हेर्दा हामी पहिलो पार्टी बन्दैछौँ । त्यसका लागि यो २३र२४ दिन युद्धस्तरमा खट्नुपर्छ।