रुकुम पश्चिममा पुरुषको शव फेला

काठमाडौं। रुकुम पश्चिममा एक व्यक्तिको शव फेला परेको छ । खोलामा डुबेको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ।

त्रिवेणी गाउँपालिका-२ बर्खे टाकुराका ४६ वर्षीय लालबहादुर कठायत सोही वडास्थित रुघा खोलामा डुबेको अवस्थामा मृत फेला परेका हुन्।

स्थानीयले आज बिहान खोलामा डुबेको देखेपछि प्रहरीलाई खबर गरेका थिए। खोला तर्ने क्रममा चिप्लिएर लडेको हुनसक्ने र निस्किन नसकेपछि डुबेर मृत्यु भएको हुनसक्ने जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक हरिप्रसाद पुनले बताए।

कठायतको शव भेटिएको खोला बगाउन सक्ने खालको भने छैन। रातिको समय भएकोले कसैले नदेखेको र खोला बाहिर निस्कन सक्ने अवस्था नभएपछि उनको मृत्यु भएको हुनसक्ने पुनले बताए।कठायतको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल सल्ले पुर्‍याइएको छ।