सामान्य झगडामा आफ्नै साथीको ओठ सिलाउने महिला पक्राउ
काठमाडौं। जापानको इबाराकी प्रिफेक्चरस्थित कोगा सहरमा एक महिलाले आफ्नै रुममेट (साथी)को ओठ सुई र धागोले सिलाइदिएको अमानवीय घटना सार्वजनिक भएको छ। यस घटनामा संलग्न ४९ वर्षीया मासे साकुराईलाई प्रहरीले पक्राउ गरी अनुसन्धान सुरु गरेको छ।
स्थानीय सञ्चारमाध्यमका अनुसार घटना जुन २९ को दिउँसो भएको थियो। आरोपित साकुराईले सुई र धागो प्रयोग गरेर ४२ वर्षीया रुममेटको ओठ भित्रपट्टिबाट कयौँ पटक सिलाइदिएकी थिइन्। घटनालगत्तै उद्धार गरिएकी पीडित महिलाको अस्पतालमा चिकित्सकहरूले ओठको सिलाई खोलिसकेका छन्। उनको ओठमा गहिरो चोट लागेको भए पनि हाल उनको स्वास्थ्य अवस्था खतरामुक्त रहेको जापान प्रहरीले जनाएको छ।
ओठ सिलाइदिएका कारण पीडित महिला बोल्न र खान नसक्ने अवस्थामा पुगेकी थिइन्। डरका कारण उनी तुरुन्तै घरबाट बाहिर निस्कन सकेकी थिइनन्। भोलिपल्ट साकुराई घर बाहिर गएको मौका छोपेर उनी भाग्न सफल भइन्। सेतो मास्क लगाएर नजिकैको सुविधा पसलमा पुगेकी उनले बोल्न नसक्ने भएकाले कर्मचारीलाई ‘कृपया मलाई मद्दत गर्नुहोस्’ लेखिएको नोट देखाएकी थिइन्। पीडितको दयनीय अवस्था देखेर कर्मचारीले तत्काल प्रहरीलाई खबर गरेपछि यो घटना बाहिर आएको हो।
प्रहरीसँगको बयानमा पीडितले सामान्य झगडाको निहुँमा साकुराई रिसाएर आफूमाथि जाइलागेको बताएकी छिन्। अभियुक्त साकुराईले बेसहारा महिलाहरूलाई आफ्नो घरमा आश्रय दिने र काम खोज्न मद्दत गर्ने गरेको खुलेको छ। प्रहरीले उक्त घरको पृष्ठभूमि र त्यहाँ बस्ने अन्य मानिसहरूको संलग्नताबारे थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ।
