चक्कु प्रहार गरेर किशोरको हत्या

दैलेख। दैलेखको दुल्लु नगरपालिका–४ शान्ति बजारमा चक्कु प्रहारबाट एक किशोरको हत्या गरिएको छ। फुटबल खेलेर घर फर्किँदै गरेका १६ वर्षीय प्रकाश खनालको चक्कु प्रहारबाट मृत्यु भएको हो।

दुल्लु अस्पताल नजिकै भएको उक्त घटनामा संलग्न रहेको अभियोगमा प्रहरीले दुल्लु नगरपालिका–१० गमौडीका १९ वर्षीय मुकुन्द शाही र १९ वर्षीय विभूषण शाहीलाई नियन्त्रणमा लिएको छ। तीनैजनाबीच विवाद भएपछि उक्त घटना घटेको प्रहरीले जनाएको छ।

गम्भीर घाइते खनालको दुल्लु अस्पतालमा उपचारका क्रममा निधन भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। घटनापछि फरार भएका दुवैजनालाई प्रहरीले घटनास्थलबाट करिब १० किलोमिटर टाढाको चामुण्डाको जंगलबाट नियन्त्रणमा लिएको हो।