आज प्रणय दिवस, प्रेम साटासाट गरेर मनाइँदै
काठमाडौं। आज विश्वभर प्रणय दिवस अर्थात् ‘भ्यालेन्टाइन्स डे’ मनाइँदैछ । यो दिवस हरेक वर्ष १४ फेब्रुअरीका दिन मनाउने गरिन्छ।
विशेष गरी युवायुवतीले यो दिवसलाई प्रेम सम्बन्ध प्रगाढ बनाउने अवसरका रूपमा लिने गरेका छन्। आजको दिन रातो गुलाफ र विभिन्न उपहार आदानप्रदान गर्ने चलन छ।
प्रेमका पक्षधर सन्त भ्यालेन्टाइनलाई मृत्युदण्ड दिएको सम्झनामा प्रणय दिवस मनाउन थालिएको विश्वास गरिन्छ। यो दिवस अहिले विश्वभर चर्चित रहेको छ।
भ्यालेन्टाइन डे को शुरूआत सन् २६९ मा इटालीको रोमनबाट प्रारम्भ भएको मानिन्छ । प्रेमका लागि भ्यालेन्टाइनको बलिदानको सम्मानमा भ्यालेन्टाइन डे का रूपमा मनाउन थालिएको हो।
भ्यालेन्टाइनलाई मृत्युदण्ड दिएको दिनको सम्झनामा प्रत्येक वर्षको १४ फेब्रुअरीमा भ्यालेन्टाइन दिवस मनाउने गरिएको छ।
तेस्रो शताब्दीमा रोममा एक क्लोडियस नामक शासक थिए। उनले भन्ने गर्दथे ‘जब बिहे गरिन्छ पुरुषको शक्ति र बुद्धि नष्ट हुन्छ।त्यसैले ‘आजदेखि कुनै पनि अधिकारी वा सैनिकले बिहे गर्न पाउनेछैन।
उनले आफ्नो राज्यमा उद्घोष गरिदिए, तर भ्यालेन्टाइनलाई क्लोडियसको यो कुरा पटक्कै मन परेन। उनले फरमानको विरोध मात्रै गरेनन् सन्त भ्यालेन्टाइनले सयौँ अधिकारी र सैनिकको विवाहसमेत गराइदिए।
भ्यालेन्टाइनको यस्तो क्रियाकलापबाट क्लोडियस क्रोधित भएर सन् २६९ को १४ फेब्रुअरीमा भ्यालेनटाइनलाई फाँसी दिने निर्णय गरे। फाँसीको आदेश सुनेर सन्त भ्यालेन्टाइनले जेलरकी दृष्टिविहीन छोरीको नाममा एक प्रेम पत्र लेखे। र त्यसको मुनी लेखे, ‘फ्रम योर भ्यालेन्टाइन।
यससँगै उनले प्रेमपूर्वक फूल उपहार पठाए। मृत्युअघि उनले जेलरलाई भने, ‘म मरेपछि मेरो आँखा तपाईंकी आफ्नी दृष्टिबिहीन छोरीलाई दिनू।यहि दिनलाई भ्यालेनटाइनको समर्पणमा मानिसले प्रणय दिवस मनाउन सुरु गरे।
