पेस्तोलसहित भारतीय नागरिक पक्राउ

सुनसरी। सुनसरीको कोशी गाउँपालिका–३ जमुवाबाट जालीनोट, स्वचालित पेस्तोल र करिब १०० ग्राम ब्राउनसुगरसहित एकजना भारतीय नागरिकलाई पक्राउ परेका छन्।

निर्वाचन क्षेत्र सुरक्षाका लागि सीमा क्षेत्रमा खटिएको बिओपी श्रीपुरको सशस्त्र प्रहरीको टोलीले भारतीय नागरिकलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा भारतको विहार प्रान्तको अररिया जिल्लास्थित बेला ग्राम पंचायत–४ बस्ने ३६ वर्षीय राम खेलन पासवान रहेका छन्।

निर्वाचन क्षेत्र ४ स्थित सुरक्षा बेशका अनुसार शुक्रबार बेलुका भारतीय सीमाबाट कोशी गाउँपालिको जमुवातिर प्रवेश गरेको बीआर ५० एजे ४२२९ नम्बरका मोटरसाइकल जाँच गर्दा उनलाई नियन्त्रणमा लिइएको हो।

उनको साथबाट केही भारतीय नगद र नेपाली नगद, स्वचालित पेस्तोल, पेस्तोलमा लाग्ने गोली र ब्राउनसुगर बरामद भएको हो। नाम नखुलेको लागुऔषध ६ वटा क्याप्सुल र निट्राजिपाम ५ ट्याब्लेट पनि बरामद भएको छ।