केपी ओली आज झापा जाँदै, बुधबारसम्म दमकमै रहने
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज फेरि निर्वाचन क्षेत्रका मतदाता भेट्न झापा जाँदैछन् । ओली आज बिहान १० बजेर २० मिनेटमा काठमाडौंबाट भद्रपुर विमानस्थल अवतरण गरी निर्वाचन क्षेत्रमा प्रवेश गर्ने तालिका छ ।
आजको कार्यक्रमअनुसार ओली शिक्षक भेला, धिमाल जातिको भेला तथा मुस्लिम समुदायका नागरिकसँगको भेलामा सहभागी हुनेछन् । त्यसपछि दमक–२ स्थित अस्थायी निवासमा भौगोलिक क्षेत्रका कार्यकर्ता र आम नागरिकसँग प्रत्यक्ष भेटघाट गर्ने कार्यक्रम तय गरिएको नेकपा एमाले झापाका सचिव तुलसी कार्कीले जानकारी दिए ।
उनी फागुन ६ गतेसम्म झापामै बस्ने छन् । यो अवधिमा दमक क्षेत्रका विभिन्न गाउँ र टोलमा पुगेर घरदैलो कार्यक्रम गर्नेछन् ।
हरेक दिन कम्तीमा ६ देखि ७ स्थानमा कार्यक्रम पुग्ने गरी रुट मिलाइएको छ । ओली यसअघि माघ २३ गते झापा आएर ७ दिनमा करिब ८० वटा गाउँ घुमी काठमाडौँ फर्केका थिए ।
