रुकुम पूर्वमा प्रचण्डको ‘सुरक्षित’ राजनीतिक खोजी, के सफल होलन् त ?
रनसुर महतारा (रमेश)
काठमाडौं। दुर्गमको पीडा र राज्यको उपेक्षाविरुद्ध सशस्त्र विद्रोहको नेतृत्व गर्दै राजनीति उचाइमा पुगेका पुष्पकमल दाहाल ‘प्रचण्ड’ अहिले फेरि दुर्गमकै भूमिमा राजनीतिक आधार खोज्दै पुगेका छन्। जनयुद्धको सुरुवात गर्दा दुर्गमलाई परिवर्तनको आधार बनाएका प्रचण्ड, सत्ता र चुनावी रणनीतिका कारण अहिले त्यही भूगोललाई ‘सुरक्षित’ निर्वाचन क्षेत्रको रूपमा प्रयोग गरिरहेका छन् भन्ने आलोचना तीव्र बनेको छ।
देशको प्रमुख शक्ति बन्ने यात्रामा प्रचण्डले नेतृत्व गरेको नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले विभिन्न राजनीतिक समीकरण र गठबन्धनमार्फत सत्ता सम्हाल्दै आएको छ। तर, पछिल्लो समय चुनावी प्रतिस्पर्धा कडा बन्दै जाँदा उनले आफ्नो निर्वाचन क्षेत्र पटक–पटक परिवर्तन गर्दै सुरक्षित स्थान खोज्ने रणनीति अपनाएको देखिन्छ। चितवन र गोरखाबाट चुनावी मैदान छोड्दै अन्ततः रुकुम पूर्व पुगेका प्रचण्डलाई ‘सुरक्षित सीट खोज्ने नेता’ का रूपमा चित्रण गर्न थालिएको छ।
रुकुम पूर्वमा चुनावी अभियान चलाइरहेका प्रचण्डले नेता–कार्यकर्तासँग ‘मर्निङ वाक’ गर्दै जनसम्पर्क बढाउने, जनयुद्धकालीन स्मृतिस्थलहरूको अवलोकन गर्ने र पुराना संरचनाहरू घुम्दै आफ्ना विगतका राजनीतिक दिनहरू सम्झिने कार्यक्रमलाई प्राथमिकता दिएका छन्। उनले युद्धकालीन आधार क्षेत्रको रूपमा चिनिएको चुनवाङ भेडीडाँडा पुगेर भावुक बन्दै स्वर्गीय छोरा प्रकाश दाहाल र पत्नी सीता दाहालको स्मरण गरेका थिए। यसले उनको भावनात्मक प्रस्तुति र चुनावी रणनीति दुवैलाई जोड्ने प्रयासको रूपमा हेरिएको छ।
त्यसैगरी, लामो समयदेखि बिर्सिएको जनयुद्ध दिवसलाई पनि उनले रुकुम पूर्वमै मनाएर आफ्नो पुरानो राजनीतिक पहिचानलाई पुनः जागृत गर्ने प्रयास गरेका छन्। यो कदम मतदातालाई भावनात्मक रूपमा प्रभावित गर्ने रणनीति हुन सक्ने केहीले बताउन थालेका छन्। तर, अन्य पार्टीका नेताहरू भन्छन्—जनयुद्धको आदर्शलाई त्यागेर सत्ताकेन्द्रित राजनीतिमा रमाएका प्रचण्ड अहिले फेरि त्यही इतिहासलाई चुनावी हतियारका रूपमा प्रयोग गरेको समेत आरोप लगाउन थालेका छन्।
केही मतदाताले प्रचण्डलाई अझै पनि परिवर्तनको प्रतीकका रूपमा हेर्ने गरेका छन् भने धेरैले उनलाई चुनाव जित्नकै लागि क्षेत्र परिवर्तन गर्ने नेताका रूपमा लिने गरेका छन्। रुकुमलाई ‘सुरक्षित ठाउँ’ ठानेर आएका प्रचण्डलाई यसपटकको प्रतिस्पर्धा सहज नहुने संकेत देखिएको छ।
गोरखाबाट अन्ततः रुकुम पूर्व पुगेका प्रचण्ड हाल त्यहाँका मतदातालाई आफ्नो पक्षमा पार्न विभिन्न रणनीति अपनाइरहेका छन्। चुनाव जित्नकै लागि निर्वाचन क्षेत्र फेर्दै हिँड्ने उनले अन्ततः कतै पनि जित्ने ठाउँ नभेटेपछि रुकुम पूर्वमा शरण लिएको देखिन्छ।
यता प्रचण्ड स्वयंले भने आफ्नो उपस्थितिलाई विकास, स्थायित्व र पुराना संघर्षको निरन्तरताका रूपमा प्रस्तुत गर्दै आएका छन्। तर, बदलिँदो राजनीतिक परिवेश, जनताको अपेक्षा र बढ्दो प्रतिस्पर्धाका बीच रुकुम पूर्वमा उनको चुनावी यात्रा कति सफल हुन्छ त्यो भने हेर्न बाँकी नै छ।
