मध्यपूर्वका नेपालीलाई सहयोग गर्न कांग्रेसले ‘हेल्प डेस्क’ सञ्चालन गर्ने

काठमाडौं। नेपाली कांग्रेसका सभापति गगनकुमार थापा ले मध्यपूर्वी भूभागमा विकसित पछिल्लो परिस्थितिका कारण समस्यामा परेका नेपाली नागरिकका लागि हेल्प डेस्क सञ्चालनमा ल्याइएको बताएका छन्।

सभापति थापाले विदेशमा समस्यामा परेका नेपालीहरूका साथै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान अवरुद्ध भएर अलपत्र परेका नागरिकलाई आवश्यक सहजीकरण गर्न सहयोग डेस्क स्थापना गरिएको जानकारी दिए।

मध्यपूर्वका विभिन्न देशमा रहेका धेरै नेपाली दाजुभाइ तथा दिदीबहिनीहरू हालको संकटबाट प्रभावित हुदाँ कतिपयलाई राहत, स्थानान्तरण तथा तत्काल उद्धारको आवश्यकता परेको छ भने धेरै जनाको आफ्ना परिवारसँग सम्पर्कसमेत हुन सकेको छैन। उडानहरू रद्द भएपछि नेपालमा रहेका यात्रुहरू पनि समस्यामा परेका छन्।

‘सरकारले आफ्नो तवरबाट काम गरिरहेको छ। त्यसलाई थप सहयोग पुर्‍याउने उद्देश्यले हामीले हेल्प डेस्क सञ्चालनमा ल्याएका छौं,’ थापाले समाजिक सञ्जालमा लेखेका छन्। यस प्रक्रियालाई सहज बनाउन सम्बन्धित देशहरूमा रहेका नेपाली जनसम्पर्क समिति तथा गैरआवासीय नेपाली संघसँग समन्वय भइरहेको बताएका छन्।

साथै उडान अवरुद्ध भई काठमाडौंमा रोकिएका नागरिकलाई गृहजिल्ला वा घरसम्म पुग्न यातायातको आवश्यक व्यवस्था मिलाइएको कांग्रेसले जनाएको छ।