आईजीपी कार्कीका १०० दिन: साढे ५ हजारबढी फरार प्रतिवादी पक्राउ,अवैध हतियार बरामद

काठमाडौं । दानबहादुर कार्कीले नेपाल प्रहरीको नेतृत्वको (प्रहरी महानिरीक्षक,आईजीपी) सम्हालेको १०० दिन पूरा भएको छ।

यो अवधिमा ५ हजार ७८१ जना फरार प्रतिवादी पक्राउ परेका छन्। प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको विवरणअनुसार पक्राउ परेका ५ हजार ७८१ प्रतिवादीबाट १ हजार ९६० वर्ष कैद र ३८ करोड ३६ लाख २७ हजार ६४१ जरिवाना भुक्तान गर्न बाँकी छ। कर्तव्य ज्यान सम्बन्धी १२३ घटनाका १८८ अभियुक्त पक्राउ गरेका छन्।

उनी २७ कात्तिकमा आईजीपी बनेका थिए। त्यसयता निर्वाचनको वातावरण बनाउन प्रहरीले सुरक्षा हिसाबले उल्लेख्य भूमिका खेलेको बताइएको छ। निर्वाचन सुरक्षा विश्लेषणको कमाण्ड एसएसपी दयानिधी ज्ञवालीले गरेर काम गरिरहेका छन्।

उत्तरदायी, पारदर्शी, प्रविधिमैत्री र जनमुखी एंव नागरिकमैत्री काम गरिएको प्रहरी प्रधान कार्यालयले बताएको छ।

यो अवधिमा कार्यसम्पादन मूल्यांकन मार्गदर्शन कार्यान्वयन गरी जिल्ला प्रहरी कार्यालयहरूमा मासिक कार्यसम्पादन मापन गर्ने पद्दतीको सुरुवात गरिएको बताइएको छ।

वरिष्ठ सईसम्मका प्रहरी कर्मचारीलाई आकस्मिक सहुलियत कर्जा सञ्चालन गरिएको छ। प्रहरीको राशनको स्केल पनि १ फागुनदेखि लागु हुनेगरी वृद्धि गरिएको छ । यो बीचमा सात वटै प्रदेशमा सुरक्षा गोष्ठी सम्मन्न भएका छन्।

प्रहरी प्रधान कार्यालयमा आर्टिफिसियल इन्टेलिजेन्स ९एआई० एन्ड एडभान्स एनालाइटिक्स सेलको स्थापना गरिएको छ।