मतदानको दिन र शनिबारबाहेक बिदामा पनि सर्वोच्च अदालत खुल्ने
काठमाडौं । प्रतिनिधिसभा निर्वाचन अन्तर्गत मतदानका दिन र शनिबारबाहेक सर्वोच्च अदालत अन्य दिन खुला रहने भएको छ ।
निर्वाचनका लागि सरकारले फागुन २४ गतेसम्म लगातार सार्वजनिक बिदा दिएको भएपनि शनिबार र मतदानको दिनबाहेक यस अवधिमा पनि बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सर्वोच्च अदालत खुला रहने भएको हो ।
सरकारले चुनावका लागि २० देखि २२ गतेसम्म सार्वजनिक बिदा दिने निर्णय गरेको छ भने भोलिपल्ट २३ गते शनिबार र २४ गते अन्तर्राष्ट्रिय महिला दिवस परेका छन् ।
तर उक्त अवधिमा पर्ने मतदान हुने दिन र शनिबारबाहेक अन्य दिनमा बन्दीप्रत्यक्षीकरणको रिट निवेदन लिई सुनुवाइ गर्न बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म अदालत खुला रहने सर्वोच्च अदालतले सूचनामार्फत जानकारी गराएको छ ।
