…त्यसकारण बाजुराले जनकराज गिरिलाई जिताउँने छ
यमराज तिमिल्सिना
फागुन २१ गते हुने प्रतिनिधिसभाको उम्मेदवारका रूपमा नेपाली काङ्ग्रेसले पूर्व भूमिसुधार सहायक मन्त्री जनकराज गिरीलाई अगाडि सारेको छ । बाजुरामा जनकराज गिरिलाई साधारण जीवनशैली, इमानदार र बौद्धिक विकासवादी नेताको रूपमा चिन्दछन् । सत्ता र पदमा नहुँदा पनि पछिल्ला २५/२६ वर्षदेखि पूर्वाधार विकासका लागि समाजसेवामा योगदान पुर्याउँदै आउनुभएका जनकराज गिरिको सबैले प्रशंसा गर्दछन् ।
जनकराज गिरिले कहिल्यै पनि आफ्नो लागि मात्रै सोच्नुभएको देखिदैन । घरकै आँगनमा हुँदाखाँदाको सरकारी जागीर होस् वा भूमिसुधार सहायक मन्त्री भएको बेला होस् । पदलाई साधन होइन, सेवाको अवसर मानेर काम गर्नुभएको देखिन्छ । साथै अरुलाई अगाडि बढाएर आफू फ्रन्ट लाइनमा अनुहार देखाउँन लाग्नुभएन । बालक देखि वृद्धसम्म पक्ष विपक्ष केही नभनी सबैलाई समान ब्यवहार गर्ने स्वभावले सबैसामु परिचीत हुनुहुन्छ ।
औपचारिक जिम्मेवारीमा भए वा नभए पनि, सधैं जनतासँग रही जनताका समस्या, माग र आवश्यकताहरूलाई गम्भीरतापूर्वक सम्बोधन गर्दै आउनुभएको कारणले बाजुरेली जनताका सुख, दुःखका सच्चा साथीका रूपमा चिनिनु भएको छ।
निर्वाचन जित्न सबैभन्दा ठूलो कुरा जनताको जीवन बुझेको, दु:ख, सुखमा सँगै बाँचेको, सबैतिर विचार पुर्याएर निर्णय लिनसक्ने, सबैलाई समान व्यवहारमा मिलाएर लिनसक्ने व्यक्तिको खाँचो हुन्छ, त्यो जनकराज गिरिमा रहेकोले पनि बाजुराको समग्र विकास र जनताको वास्तविक सेवा गर्ने अवसर एकपटक जनकराज गिरिलाई दिनु आजको आवश्यकता देखिन्छ ।
वर्तमान अवस्थालाई राम्रोसँग नियाल्ने हो भने दलभन्दा माथि उठेर हेर्दा व्यक्तित्व, विचार र विकासको बाटोलाई चिन्ने र सबैलाई समेटेर लिनसक्ने सबल र सक्षम उम्मेदवार जनकराज गिरि नै देखिनुहुन्छ ।
अहिलेका नेताकार्यकर्ताहरुको भड्किलो जीवनशैली, नागरिकसँगको सम्बन्धतमा दुरता, आफ्नै प्रचारप्रसारमा रमाउँने प्रवृत्ति भन्दा काममा विश्वास गर्ने, पद वा व्यक्तिगत स्वार्थभन्दा सेवा र विश्वासलाई ठूलो मान्ने, साधारण र दृढ स्वभाव, जिल्लाका सबैसँग नजिक भइरहने सहज र सरल स्वभाव भएको कारण अधिकांशले जनकराज गिरिलाई जिल्लाको भरोसायोग्य नेताका रूपमा मान्दछन् ।
अङ्ग्रेजीमा भनाइ छ ‘एज इज जस्ट अ नम्बर’ अर्थात उमेर सङ्ख्या मात्रै हो । उमेरले युवा वा बूढो भएर मात्र हुँदैन । व्यक्तिमा दृढ ईच्छा शक्ति, प्रष्ट विचार, स्पष्ट दृष्टिकोण, ईमानदारी र जवाफदेहिता भयो भने त्यो केवल उमेरले मात्रै बूढो मानिदैन। जसले समयलाई बुझ्न सक्यो त्यही युवा हुन्छ त्यही नयाँ हुन्छ । जनकराज गिरि उमेरले युवा नभए पनि सोच, दृष्टि र इमानदारीले उहाँ सधैं युवा हुनुहुन्छ।
युवाको भावना र विचारलाई सम्मान गर्दै खेलकुद जस्ता रचनात्मक र सिर्जनात्मक कार्यमा हौसला बढाउँने, प्रत्यक्ष घुलमिल हुने, युवाको आवाज बुझ्नसक्ने व्यक्ति भएकोले सबै उमेर समूहको भावनाको कदर गरेर सबैलाई सहि रूपमा परिचालन गर्न सक्ने उम्मेदवार हुनुहुन्छ । गिरि बाजुराको मात्र नेता नभएर पछिल्लो समयमा पार्टी सुधार र रूपान्तरणको मागलाई विचार र व्यवहार दुवैमा आत्मसात् गर्ने नेपाली काङ्ग्रेसभित्रका नेताहरू मध्य एक हुनुहुन्छ ।
बाजुराबाट २०५६ सालमा निर्वाचित हुँनुभएका गिरि तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा भूमिसुधार सहायक मन्त्रीका रूपमा ४ महिना १२ दिन मात्रै मन्त्री मण्डलमा रहँदा पद सानो भए पनि कामको प्रभाव आजसम्म देखिने खालको छ । त्यही छोटो अवधिमा पनि उहाँले बाजुरा र देशका निम्ति गरेका कामहरू आज अगाडि बढिरहेकाछन्।
तत्कालीन अर्थमन्त्री डा. रामशरण महतलाई जनकराज गिरिकै समन्वयमा बाजुरा भ्रमण गराइयो र सोही भ्रमणकै क्रममा कर्णाली करिडोरको अवधारणा अगाडि सारियो, जसले गर्दा बाजुरा पनि सहज रूपमा सडकमार्गमा जोडियो । आज कर्णाली र सुदूरपश्चिम क्षेत्रका स्थानीयलाई सहज भएको छ ।
बाजुरा अन्धकारमा रुमलिरहेको बेला जनकराज गिरिको नेतृत्वमा नेपाली काङ्ग्रेस बाजुराले उज्यालो बाजुरा अभियान सञ्चालन गर्यो । जसबाट बाजुराका तत्कालीन २७ वटा गाविसमा विद्युत वितरणको सुरुवात भयो । गिरिकै अगुवाईमा सिँचाइ लिफ्टिङ नमुना कार्यक्रम अन्तर्गत तत्कालीन बाँधु गाविसको वडा नम्बर ५ बोल्ढिकको छेपीमा र वाइ गाविसको वाइमै सिँचाइको लागि ‘लिफ्टिङ सिँचाइ कार्यक्रम’ सुरु गरियो ।
सहायक मन्त्री भएकै बेला बाजुराको प्रमुख पर्यटकीय स्थल बडिमालिकाको गुरु योजनाका लागि सूत्रगत आधारहरू निर्माण गरियो । जसले बाजुराको पर्यटन विकासलाई दीर्घकालीन दिशातर्फ डोर्याउँने काम अगाडि बढायो । बाजुरा राज्यको मूल सडक सञ्जालको पहुँचभन्दा बाहिर रहेकोबेला त्रिवेणी नगरपालिकालाई RAP–3 कार्यक्रममार्फत २४ किलोमिटर सडक सञ्जालसँग जोड्ने कार्य अघि बढाइयो।
त्यसै गरि दुर्गम र पिछडिएको क्षेत्रको व्यवस्थापन गर्दा बाजुरालाई पनि पिछडिएको क्षेत्र समावेश गराउँनुभयो जसले गर्दा बाजुरा पनि राज्यका महत्वपूर्ण अङ्गहरूमा प्रतिनिधित्व हुनपुग्यो । भूमिसुधार सहायक मन्त्री भएकै बेला गिरिकै अगुवाईमा १२ हजार भूमिहीन तथा कमैयाहरूलाई दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुर जिल्लामा लालपुर्जा वितरण गरियो । त्यसैले व्यक्तिगत रूपमा आफू भन्दा माथी समाजलाई राख्ने इमानदार, सादगी नेता गिरिको इतिहास सम्झिन लायक छ । इतिहासले नै भविष्यको सही दिशा निर्देश गर्दछ ।
बाजुराबाट जनकराज गिरिलाई जिताउँनै पर्ने मुख्य १० वटा कारण :-
१. इमानदारिता, पारदर्शिता, जवाफदेही र निष्ठावान नेतृत्वमार्फत विश्वासको राजनीति स्थापना गर्न ।
२. राजनीति अवसर होइन सेवा भन्ने भाव पैदा गर्न ।
३. स्थानीय उत्पादनलाई बजारसँग जोड्दै आत्मनिर्भर अर्थतन्त्र निर्माणमा जोड दिई स्थानीय स्तरमै रोजगारी सिर्जना गर्न ।
४. गुणस्तरीय सार्वजनिक शिक्षा, सहज स्वास्थ्य सेवा र सर्वसुलभ यातायातको व्यवस्था गर्न ।
५. कृषि, पर्यटन र ज४ ( जल, जमिन, जङ्गल र जडिबुटी ) मार्फत बाजुराको विकास र समृद्धि बढाउँन ।
६. नेपालको संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रबाट उपलब्ध प्रणालीलाई कमजोर होइन अझ मजबुत बनाउँन आवश्यक कानूनी नीतिगत र संरचनात्मक सुधारमा सक्रिय पहल गर्न ।
७. जनउत्तरदायी संयन्त्र र स्थानीय संघीय समन्वयलाई सुदृढ बनाउँन ।
८. संविधानले सुनिश्चित गरेका मौलिक हक, सामाजिक न्याय समानता र अवसरको सुनिश्चित कार्यान्वयन लागि हरेक पीडितको आवाज संसदसम्म पुर्याउँन ।
९. सार्वजनिक सम्पत्तिको दुरुपयोग रोक्न, निगरानी र पारदर्शी प्रणाली विकास गर्न ।
१०. समावेशीताको कोटामा औपचारिक उपस्थितमा होइन वास्तविक निर्णय गर्ने ठाउँमा प्रभावकारी सहभागिता सुनिश्चित गर्न ।
जिल्लामा सबैभन्दा इमानदार र विकासवादी नेताको पहिचान बनाउँनु भएका प्रतिनिधि सभा उम्मेदवार जनकराज गिरिले फागुन ६ गते नेपाली
काङ्ग्रेस जिल्ला कार्यसमितिले कोल्टीमा आयोजना गरेको कार्यक्रममा राखेको मन्तव्य जस्ताको तस्तै :
राजनीति मेरो लागि शक्ति, पद, वा सम्पत्ति कमाउने बाटो होइन। यो त जनताको पीडा बुझ्ने, आशा बोकेर हिँड्ने, र विश्वासको भारी काँधमा बोक्ने यात्रा हो। मैले राजनीतिमा कहिल्यै व्यभिचार गर्ने छैन। मेरो जात नै जोगी हो, र म राजनीतिमा पनि जोगी भएरै बस्न चाहन्छु। न मलाई धनसम्पत्तिको मोह छ, न व्यक्तिगत स्वार्थको लोभ। मेरो परिवार भनेकै जनता हुन्, मेरो सम्पत्ति भनेकै जनताको माया र विश्वास हो। न मैले हिजो धन कमाएँ, न भोलि कमाउने इच्छा राख्छु।
जनताको भरोसा बेचेर बनाइएको महलभन्दा, जनताको विश्वासले बनाइएको सानो झुपडी नै मेरो लागि ठूलो हो। मलाई सत्ता होइन, सेवा चाहिएको छ। मलाई पद होइन, जिम्मेवारी चाहिएको छ। यदि म जनताको अनुहारमा मुस्कान ल्याउन सकेँ भने, त्यही मेरो सबैभन्दा ठूलो उपलब्धि हो ।
राजनीति तब मात्र पवित्र हुन्छ, जब यसमा इमानदारी हुन्छ। नेतृत्व तब मात्र सार्थक हुन्छ, जब त्यसमा जनताको पीडा सुन्ने धैर्य हुन्छ। म जनताको सहयात्री बन्न आएको हुँ, दर्शक होइन। जनताको संघर्षको कथा सुन्न, जनताको आशाको दीप बलिराख्न, र जनताको भविष्यको बाटो उज्यालो बनाउन आएको हुँ ।
उहाँले जे बोल्नुभएको छ त्यो व्यवहारमा पनि लागू गर्नुभएको छ । जिल्लाका सम्पूर्ण गाउँ,गाउँमा पुगेर प्रत्यक्ष जनताको दुःख सुख बुझ्नुभएको छ । भूईंमान्छेका कुरा सुन्नु मात्रै होइन बुझ्नुभएको छ । त्यसैले जिल्लाका आवश्यकता र सम्भावनालाई नजिकबाट नियालेर आफूले गर्नसक्ने काम गर्दै आउँनु भएको छ । सडक, शिक्षा, स्वास्थ्य, खानेपानी, कृषि लगायत रोजगारीका सवालमा स्पष्ट योजना र प्रतिबद्धताले सम्पूर्ण बाजुरावासीलाई पार्टी बिपार्टी नभनी एकै किसिमको व्यवहार गर्दै आउनु भएको हुँदा सबैले प्रशंसा गर्दछन् ।
