अछाममा आचारसंहिता उल्लंघनको आरोप: एमाले उम्मेदवारविरुद्ध उजुरी

अछाम ।नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का तर्फबाट अछाम निर्वाचन क्षेत्र नं.१ का उम्मेदवारका प्रतिनिधि बालगिरी कुँवरले आचारसंहिता उल्लंघन गरेको भन्दै एमाले उम्मेदवार दीपक साउदविरुद्ध जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएका छन्।

फागुन १९ गते प्रमुख जिल्ला अधिकारीलाई सम्बोधन गरी दर्ता गरिएको पत्रमा नेकपा (एमाले)का उम्मेदवार साउदले मौन अवधिको उल्लंघन गरी चुनावी प्रचारप्रसार र मतदातालाई प्रलोभन देखाउने कार्य गरेको दाबी गरिएको छ।

विज्ञप्तिअनुसार निर्वाचन कानुन र आचारसंहिता बमोजिम फागुन १८ गते राति १२ बजेदेखि नै कुनै पनि किसिमको प्रचारप्रसार गर्न नपाइने व्यवस्था छ। तर, एमाले उम्मेदवार साउदले फागुन १९ गते बिहानदेखि दुईवटा गाडीमा कार्यकर्तासहित मेल्लेख गाउँपालिका–७ (नन्देगडा र मौभेरी) तथा बान्नीगढी जयगढ गाउँपालिका–३ (धारासैन) मा प्रचारप्रसार र कोठे बैठक गरिरहेको आरोप लगाइएको छ।

विज्ञप्तिमा भनिएको छ, “उम्मेदवार दीपक साउदले आफ्नै नेतृत्वमा मतदातालाई विभिन्न प्रलोभन दिइरहेको पाइएको छ। यस सम्बन्धमा यसअघि नै मौखिक रूपमा प्रमुख जिल्ला अधिकारी र निर्वाचन क्षेत्र नं। १ का निर्वाचन अधिकृतलाई जानकारी गराइसकेका छौँ।