कांग्रेसका सभापति थापासहितका सबै पदाधिकारीहरू पराजित,कसले कोसँग हारे ?
काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार बनाएका सबै पदाधिकारीहरू पराजित भएका छन्। कांग्रेसले केन्द्रीय कार्यसमितिबाट विभिन्न जिल्लामा उम्मेदवार बनाएका पदाधिकारीहरू पराजित भएका हुन्।
२१ फागुनमा सम्पन्न निर्वाचनमा कांग्रेसले सभापति गगनकुमार थापासहित आठ जना पदाधिकारीहरूलाई उम्मेदवार बनाएको थियो। जसमध्ये कसैलाई पनि अब गठन हुने प्रतिनिधि सभामा देख्न पाइने छैन।
कांग्रेस सभापति थापालाई प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सारेर चुनावमा होमिएको थियो। तर, लामो विरासत बोकेको पार्टीका सभापति थापा युवा मतदाताहरूको असन्तुष्टिको शिकार बन्न पुगे।
कांग्रेसका उपसभापतिहरू विश्वप्रकाश शर्मा र पुष्पा भुसाल भने प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार थिएनन्। उपसभापति शर्मालाई कांग्रेसले केन्द्रीय निर्वाचन परिचालन समिति संयोजक तोकेको थियो। तर उपसभापति शर्मा सफल हुन भने सकेन्न।
मधेश प्रदेशको सर्लाही–४ बाट उम्मेदवारी दिएका सभापति थापाको संसदीय यात्रामा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का नेता डा। अमरेशकुमार सिंहले ब्रेक लगाए।
उनले सभापति थापालाई झण्डै ११ हजार मतले पराजित गरे। रास्वपा उम्मेदवार सिंह ३५ हजार ६८८ मत ल्याएर सांसद निर्वाचित हुँदा थापाले २२ हजार ८३१ मत ल्याए।
कांग्रेस महामन्त्रीहरू प्रदीप पौडेल र गुरूराज घिमिरेका लागि पनि निर्वाचन प्रतिकूल बन्न पुग्यो। पौडेल काठमाडौं–५ मा र घिमिरे मोरङ–४ मा रास्वपाका उम्मेदवारसँग पराजित भए।
महामन्त्री पौडेल रास्वपाका सम्मित पोखरेलसँग साढे २१ हजार मतले पराजित भएका छन्। निर्वाचन आयोगका अनुसार पोखरेल ३० हजार ७३७ मतसहित विजयी हुँदा पौडेलले नौ हजार १५९ मतमात्रै पाए। उनी गत निर्वाचनमा यही क्षेत्रबाट विजयी भएका थिए।
अर्का महामन्त्री घिमिरे रास्वपाका उम्मेदवार सन्तोष राजवंशीसँग २८ हजार मतले पराजित भएका छन्। राजवंशीले ४० हजार ८३३ मत ल्याउँदा घिमिरेले १२ हजार ८१८ मतमा चित्त बुझाउनु परेको छ।
यस्तै कांग्रेसका सात जना सहमहामन्त्रीहरूका लागि पनि निर्वाचन अनुकूल बन्न सकेन। निर्वाचनमा पराजित हुने सहमहामन्त्रीहरूमा फरमुल्लाह मन्सुर, उदयशम्शेर राणा, प्रकाश रसाइली स्नेही, योगेन्द्र चौधरी र कर्णबहादुर बुढा रहेका छन्।
सहमहामन्त्री मन्सुर मधेश प्रदेशको बारा–३ मा रास्वपाका अरबिन्द साहसँग हारेका हुन्। ४० हजार ६९७ मत ल्याएर साह प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुँदा मन्सुरले १० हजार ५२ मतमात्रै ल्याएका छन्।
सहमहामन्त्री राणा ललितपुर–१ मा रास्वपाकै उम्मेदवार बुद्धरत्न महर्जनसँग पराजित भएका छन् । महर्जनले २३ हजार ३७३ मतसहित विजयी हुँदा राणाको पक्षमा १३ हजार ५२० मतमात्रै खसेको छ ।
त्यस्तै सहमहामन्त्री रसाइली सुदूरपश्चिमको बझाङबाट नेकपा एमालेका उम्मेदवार ऐनबहादुर महरसँग हारेका छन् । महरले १८ हजार ५४३ मत ल्याउँदा सहमहामन्त्री रसाइलीले १६ हजार ३०४ मत पाएका छन् ।
कांग्रेसका अर्का सहमहामन्त्री चौधरी पनि लुम्बिनी प्रदेशको दाङ–१ मा रास्वपाकै उम्मेदवारसँग पराजित भएका छन्। रास्वपा नेता देवराज पाठकले उनलाई २७ हजारभन्दा बढी मतले हराएका छन्। आयोगका अनुसार पाठकले ४२ हजार ६०२ र चौधरीले १५ हजार २८० मत पाएका छन्।
कर्णाली प्रदेशको डोल्पामा उम्मेदवार रहेका सहमहामन्त्री बुढा आफ्नौ सहोदर भाइसँग (नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार) धनबहादुर बुढासँग पराजित भएका हुन्। धनबहादुरले छ हजार ८०२ मत ल्याएर विजयी हुँदा कर्णबहादुर दुई हजार ९४७ मतमै रोकिन पुगे।
प्रतिनिधि सभा निर्वाचनमा कांग्रेस प्रत्यक्षतर्फ १७ सिटमा समेटिएको छ। कांग्रेसबाट कोशीमा तीन,मधेश र बागमतीमा एक–एक,गण्डकी र लुम्बिनीमा दुई–दुई, कर्णालीमा पाँच र सुदूरपश्चिममा तीन स्थानमा विजयी भएको हो।
कांग्रेसबाट कोशी प्रदेशमा नरेन्द्रकुमार केरूङ (पाँचथर),सन्तोष सुब्बा (तेह्रथुम) र प्रकाशसिंह कार्की (सोलुखुम्बु) प्रतिनिधि सभा सदस्य निर्वाचित भएका हुन्।
यस्तै मधेश प्रदेशका ३२ सिटमध्ये रौतहट–२ बाट फिरदोश आलम र बागमती प्रदेशका ३३ सिटमध्ये रसुवाबाट मोहन आचार्य निर्वाचित भएका छन्।
गण्डकी प्रदेशबाट टेकबहादुर गुरूङ(मनाङ) र योगेश गौचन थकाली (मुस्ताङ) तथा लुम्बिनी प्रदेशबाट सन्दीप राना (पाल्पा–१) र अभिषेकप्रताप शाह (कपिलवस्तु–३) निर्वाचित हुने सूचीमा परेका छन्।
कर्णाली प्रदेशमा कांग्रेसबाट चुनाव जित्नेमा बासना थापा (दैलेख–१), खड्ग शाही (मुगु), विष्णुबहादुर खड्का (सुर्खेत–१), जयपती रोकाया (हुम्ला) र खडकबहादुर बुढा (जाजरकोट) रहेका छन् ।
निवर्तमान सभापति शेरबहादुर देउवाको गृह प्रदेश सुदूरपश्चिम प्रदेशका १६ मध्ये तीन क्षेत्रमा मात्रै कांग्रेस विजयी भएको छ।कांग्रेस डोटी, अछाम–१ र बाजुरामा विजयी भएको हो। कांग्रेसले डोटीमा भरतबहादुर खड्का, अछाम–१ मा भरतकुमार स्वार र बाजुरामा जनकराज गिरीलाई उम्मेदवार बनाएको थियो।
