राष्ट्रिय सभाका नवनिर्वाचित सांसदहरूलाई आज शपथ गराइँदै
काठमाडौं । सङ्घीय संसद्अन्तर्गत राष्ट्रिय सभामा हालै निर्वाचित सदस्यलाई आज शपथ गराइने भएको छ । सङ्घीय संसद् सचिवालयले जारी गरेको सूचनाअनुसार राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले नवनिर्वाचित सदस्यलाई शपथ गराउने कार्यक्रम रहेको छ।
नेपालको संविधानको व्यवस्था अनुसार २०८२ साल माघ ११ गते सम्पन्न राष्ट्रिय सभा सदस्य निर्वाचनबाट निर्वाचित सदस्यलाई आज शपथ गराइनेछ। कार्यक्रम दिउँसो २ बजे सिंहदरबारस्थित कानुन, न्याय तथा मानव अधिकार समितिको हलमा आयोजना हुने जनाइएको छ।
नवनिर्वाचित सदस्यलाई शपथ कार्यक्रममा एक घण्टा अगावै औपचारिक वा आफ्नो पहिचान झल्कने पोशाकमा उपस्थित हुन अनुरोध गरिएको छ । साथै उनीहरूले निर्वाचन आयोगबाट प्राप्त राष्ट्रिय सभा सदस्य पदको प्रमाणपत्र र नागरिकताको प्रतिलिपि पनि साथमा ल्याउनुपर्ने सूचनामा उल्लेख गरिएको छ ।
त्यस्तै नेपाली भाषाबाहेक आफ्नै मातृभाषामा शपथ लिन चाहने सदस्यले शपथको ब्यहोरा मातृभाषामा अनुवाद गरी सोको एक प्रति सङ्घीय संसद् सचिवालयमा उपलब्ध गराउनुपर्ने व्यवस्था पनि गरिएको छ ।
विजयी सांसदहरू को को छन्
राष्ट्रिय सभाका रिक्त १९ मध्ये एक राष्ट्रपतिबाट मनोनित थिए भने १८ सदस्यका लागि निर्वाचन भएको थियो । जसमा एक जना निर्बिरोध निर्वाचित भएका थिए भने १७ जना निर्वाचनबाट विजयी भएका थिए ।
जस अनुसार कोशी प्रदेशबाट नेपाली कांग्रेसका सुनिलबहादुर थापा निर्विरोध निर्वाचित भएका थिए भने एमालेका रोशनी मेचे र सोमनाथ पोर्तेल विजयी भएका छन् । त्यस्तै मधेस प्रदेशबाट काँग्रेसका धमेन्द्र पासवान र रञ्जित कर्ण, लोसपाका महन्थ ठाकुर र एमालेकी रेखाकुमारी झा विजयी भएका छन् ।
त्यसैगरी बागमती प्रदेशबाट काँग्रेसकी गीता देवकोटा र एमालेका डा। प्रेमप्रसाद दंगाल विजयी भएका छन् भने गण्डकी प्रदेशबाट एमालेकी सम्झना देवकोटा र कांग्रेसका जगत तिमिल्सिना विजयी भएका छन् ।
त्यस्तै लुम्बिनी प्रदेशबाट काँग्रेसका बासुदेव जंगली र चन्द्रबहादुर केसी तथा एमालेबाट रामकुमारी झाक्री विजयी भएका छन् भने कर्णाली प्रदेशबाट काँग्रेसका ललितजंग शाही र एमालेकी मीनासिंह रखाल विजयी भएका छन् । त्यसैगरी सुदूरपश्चिम प्रदेशबाट एमालेका लीलाकुमारी भण्डारी र काँग्रेसबाट खम्मबहादुर खाती विजयी भएका छन् ।
