बालेन अबको प्रधानमन्त्री हो,चाहिने नचाहिने कुरा गर्ने छुट कसैलाई छैन: राजु पाण्डे
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता राजु पाण्डेले अबको प्रधानमन्त्रीको बालेन्द्र शाह (बालेन)रहेकोभन्दै चाहिने-नचाहिने कुरा गर्ने छुट कसैलाई नरहेको बताएका छन्।
मंगलबार राजधानीमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले बालेन प्रधानमन्त्री बन्ने कुरामा कुनै कन्फ्युजन (दुविधा) नरहेको बताएका थिए। ‘रास्वपाको प्रधानमन्त्रीको उम्मेदवार वरिष्ठ नेता बालेन्द्र शाह त्यसमा कुनै कन्फ्यूजन छैन। चाहिने नचाहिने भन्ने कुरा कसैलाई छुट छैन, सञ्चारकर्मीसँग उनले भने।
काठमाडौँ ३ बाट निर्वाचित पाण्डेलाई सञ्चारकर्मीले रास्वपा उपसभापति डिपी अर्यालले भनेको विषय उठाउँदै ‘बालेन शाह प्रधानमन्त्री बन्ने कि नबन्ने भन्ने कुरा पनि कन्फ्यूजनमा रहेको छ नि’ भन्ने प्रश्न गरेका थिए। त्यसको जवाफ दिँदै उनले उपसभापति अर्यालले भनेको कुरा आफूलाई थाहा नभएको बताएका थिए। यदि अर्यालले त्यस्तो भनेको हो भने उनको भनाइ गैर जिम्मेवार रहेको पाण्डेको भनाइ थियो।
अर्यालले काठमाडौँ- ९ बाट जितेसँगै सञ्चारकर्मीहरूसँग कुरा गर्दा बालेन तथा पार्टी सभापति रवि लामिछानेको सहमतिबारे आफूलाई थाहा नपाएको प्रतिक्रिया दिएका थिए। बालेन प्रधानमन्त्री बन्नेबारे कुनै सहमति नभएको आशयको प्रतिक्रिया उनले सञ्चारकर्मीहरूलाई दिएपछि बालेन प्रधानमन्त्री बन्ने कि नबन्ने भन्ने विषय राजनीतिकवृत्तमा चर्चाको विषय बनेको छ।
यद्यपि रास्वपाले बालेन प्रधानमन्त्री बन्ने कुरामा कुनै शंका नरहेको बताइसकेको छ। अर्यालले पनि आफ्नो भनाइको खण्डन गर्दै बुझाइमा फरक परिसकेको भनेर फेरि सच्याइसकेका छन्।
तर बालेन प्रधानमन्त्री बन्ने हुन् वा होइनन् भन्ने विषय भने सतहमा देखा परेको छ। सोही विषयलाई लिएर पाण्डेलाई पनि सञ्चाकर्मीले प्रश्न सोधेका हुन्। मंगलबार सञ्चारकर्मीले उपसभापतिले बालेन प्रधानमन्त्री बन्ने कुरा थाहा छैन भन्नुभएको छ नि भन्ने प्रश्नमा पाण्डे कड्किएका थिए।
‘उहाँ (अर्याल)ले थाहा छैन भनेको मलाई थाहा छैन। भनेको भए गैर जिम्मेवार कुरा हो। त्यो गैर जिम्मेवार कुरा कसैले गर्न पाउँदैन। कसैले पनि जनताले सहनेवाला छैन,पाण्डेले भनेका थिए।
उनले यतिमात्र भनेनन् अगाडि बढेर पार्टीका पदाधिकारी तहका नेतृत्वलाई नै प्रधानमन्त्रीका विषयमा जे पायो त्यही नबोल्नसमेत निर्देश गरे। यद्यपि पाण्डे आफै अहिले रास्वपाको कुनै पदाधिकारी तहमा छैनन्।
बालेन काठमाडौँको मेयर रहँदा महानगरको प्रहरी प्रमुख रहेका उनले भने– ‘रास्वपाका पदाधिकारीहरूलाई मिडियामा बोल्दा संयमित हुन र पार्टीको लाइनभन्दा बाहिर मान्छेपिच्छे कुरा नगर्न अनुरोध गर्दछु।
रास्वपाभित्र अहिले प्रधानमन्त्रीका विषय भित्रभित्रै सल्किरहेको छ।
उपसभापति अर्यालको भनाइप्रति लक्षित गर्दै बालेन निकट नेता असिम शाहले मन्त्री बन्न कुनै पनि दौडधूप नगर्न रास्वपाका नवनिर्वाचित सांसदहरूलाई सुझाएका थिए।
उनले सामाजिक सञ्जालमा लेखेका थिए–मन्त्री बन्न दौडधूप गर्न, भनसुन गर्न, मिडिया ट्रायल गर्न वा प्रचार गर्न आवश्यक छैन। केही नगरे पनि हुन्छ। जब बालेन शाह प्रधानमन्त्रीका रूपमा नियुक्त हुनुहुन्छ,उहाँले आफ्नो क्याबिनेटको टिम आफैँ छनोट गरेर बनाउनुहुनेछ। उहाँलाई सबै सांसदको योग्यता र क्षमताबारे राम्रो जानकारी छ।उनले मन्त्री बन्न ककसले मिडिया ट्रायल वा भनसुन गरे भन्ने संकेत गरेका छैनन्।
यद्यपि पछिल्ला केही घटनाहरूले रास्वपाको संस्थापन पक्ष र बालेन पक्षबीच मन्त्री बन्न हतार सुरु भइसकेको संकेत गरेको छ।
