अबदेखि आधा सिलिन्डर मात्रै ग्यास
काठमाडौं । पछिल्लो समय काठमाडौं उपत्यका लगायत देशका विभिन्न भागमा खाना पकाउने एलपी ग्यासको अभाव चर्को रूपमा देखिएको छ । उपभोक्ताहरूले बिक्रेताकहाँ पुग्दा ‘ग्यास छैन’ भन्ने जवाफ पाउने, लामो लाइन बस्नुपर्ने र कालोबजारीको शिकार हुनुपर्ने गुनासो बढेको छ।
निर्धारित मूल्य प्रतिसिलिन्डर १,९१० रुपैयाँ भए पनि केही ठाउँमा दोब्बरभन्दा बढी मूल्यमा बिक्री हुने गरेको उपभोक्ताको गुनासो छ। यो अभावलाई लिएर नेपाल आयल निगमले सुरुमा आपूर्ति पर्याप्त रहेको र उपभोक्ताले अनावश्यक भण्डारण (होर्डिङ) नगर्न आग्रह गरेको थियो। निगमका अनुसार भारतबाट मागअनुसार नै ग्यास आयात भइरहेको छ, तर बजारमा कृत्रिम अभाव सिर्जना भएको र केही डिलरहरूले कालोबजारी गरिरहेको निगमको दाबी छ।
मध्यपूर्वको तनावका कारणले उपभोक्तामा त्रास फैलिएर थप सिलिन्डर भर्ने क्रम बढेको निगमको दाबी छ । तर अभाव कम नभएपछि सरकारले अब आधा सिलिन्डर मात्र बिक्री गर्ने भएको छ । नेपाल आयल निगमको बिहीबार बसेको सञ्चालक समितिको बैठकले आधा सिलिन्डर मात्रै ग्यास वितरण गर्ने निर्णय गरेको कार्यकारी निर्देशक चण्डीकाप्रसाद भट्टले जानकारी दिए ।
यो कदमले एकातिर घरधुरीलाई पर्याप्त ग्यास उपलब्ध गराउने र अर्कोतिर कालोबजारी तथा अनावश्यक भण्डारण रोक्ने अपेक्षा गरिएको छ । सरकारले चाँडै नै यो निर्णय गर्ने र कालोबजारी गर्नेहरूमाथि कडा कारबाही गर्ने बताएको छ । उपभोक्तालाई आवश्यकताअनुसार मात्र ग्यास खरिद गर्न र विद्युतीय चुल्हो जस्ता विकल्प प्रयोग बढाउन आग्रह पनि गरिएको छ।
