बञ्चरेडाँडामा फेरि फोहोर विसर्जनमा अवरोध
काठमाडौं । बञ्चरेडाँडाबासीले फेरि काठमाडौं उपत्यकाको फोहोर विसर्जन रोकेका छन् । स्थानीयले काठमाडौं महानगरपालिका र सहरी विकास मन्त्रालयसँग विगतमा भएका सहमति कार्यान्वयन नभएको भन्दै फोहोर फाल्न नदिएका हुन् ।
उनीहरूले विगतका सहमति कार्यान्वयन नभएसम्म फोहर फाल्न नदिने अडानका साथ काठमाडौंबाट फोहर बोकेका गाडीलाई फिर्ता पठाएका हुन् ।
यसअघि गत कात्तिक १६ गते सहरी विकासमन्त्री कुलमान घिसिङले विगतका सहमति कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएसँगै फोहर विसर्जनको अवरोध हटेको थियो।
नुवाकोटको ककनी गाउँपालिका १, २ र ३ तथा धादिङको धुनबेँसी नगरपालिका १, ३ र ४ वडाका प्रभावित स्थानीयले दुई जिल्लाको सीमा ढाँडेस्थित सडकमा बसेर फोहर बोकेका गाडीलाई गन्तव्यमा जान दिएका छैनन् ।
ककनी र बेलकोटगढी तथा धुनीबेँसीका स्थानीय जनप्रतिनिधि र दलका नेताले पनि उनीहरूलाई साथ दिएका छन् ।
