कांग्रेसका ७८ वर्षीय केसीले गराउनेछन् सांसदलाई शपथ
काठमाडौं । संसद सचिवालयले प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूको शपथ ग्रहणको तयारी गरेको छ। प्रत्यक्ष र समानुपातिकतर्फ निर्वाचित सदस्यहरूले सदनको कामकारबाहीमा भाग लिनुअघि अनिवार्य रूपमा शपथ लिनुपर्ने संवैधानिक व्यवस्था अनुसार नवनिर्वाचित सांसदहरुको शपथको तयारी गरिएको हो।
प्रतिनिधिसभामा सबैभन्दा ज्येष्ठ सदस्यले अन्य सांसदहरुलाई शपथ खुवाउने प्रावधान रहेको छ। निर्वाचन आयोगको तथ्याङ्कअनुसार, यसपटक प्रतिनिधिसभामा सबैभन्दा ज्येष्ठ सदस्य नेपाली कांग्रेसका नेता अर्जुन नरसिंह केसी हुन्।
७८ वर्षीय केसीले नै अन्य सांसदलाई शपथ गराउने छन्। संसदीय परम्पराअनुसार, ज्येष्ठ सदस्यलाई पहिले राष्ट्रपतिले शपथ गराउनेछन् । त्यसपछि ज्येष्ठ सदस्यले अन्य सबै सांसदलाई शपथ गराउनेछन्।
संविधानको धारा ८८ अनुसार संघीय संसद्को प्रत्येक सदनका सदस्यले सदन वा त्यसको कुनै समितिको बैठकमा पहिलो पटक भाग लिनुअघि संघीय कानुनबमोजिम शपथ लिनुपर्छ। धारा ९१ (५) अनुसार सभामुख र उपसभामुखको निर्वाचन नभएको अवस्थामा प्रतिनिधि सभाको बैठकको अध्यक्षता उपस्थित सदस्यमध्ये उमेरका हिसाबले ज्येष्ठ सदस्यले गर्ने प्रावधान छ।
शपथ सम्बन्धी ऐन, २०७९- यस ऐन र संसदीय व्यवस्था अनुसार, सभामुखको अनुपस्थितिमा ज्येष्ठ सदस्यले नै सदस्यहरूलाई शपथ गराउने जिम्मेवारी पाउँछन्। नयाँ सभामुख र उपसभामुखको चयन नभएसम्म अर्जुन नरसिंह केसीले नै सदनको बैठक सञ्चालन गर्नेछन्। ज्येष्ठ सदस्यको अध्यक्षतामा बस्ने पहिलो बैठकले सभामुख चयनको कार्यतालिका तय गर्नेछ । सभामुख निर्वाचित भएपछि मात्र ज्येष्ठ सदस्यको यो विशेष जिम्मेवारी समाप्त हुनेछ।
निर्वाचन आयोगले निर्वाचित भएको प्रमाणपत्र दिए पनि सांसदहरूले ‘जनप्रतिनिधि’को पूर्ण अधिकार शपथ लिएपछि मात्र पाउँछन्। शपथ नलिई कुनै पनि सांसद सदनको बैठकमा प्रवेश गर्न, मतदान गर्न वा संसदीय समितिहरूमा सहभागी हुन पाउँदैनन्।
निर्वाचन आयोगले प्रत्यक्ष १६५ र समानुपातिकतर्फ ११० सांसद निर्वाचित भइसकेको घोषणा गरिसकेको छ। आयोगले बिहीबार बिहान साढे ११ बजे समानुपातिक सांसदलाई प्रमाणपत्र वितरण गर्ने कार्यक्रम रहेको छ।
