हुम्लाका बासिन्दालाई बर्सेनि नुन अभाव,थप गर्दिन माग
हुम्ला । हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकाका बासिन्दाले बर्सेनि नुन अभाव झेल्दै आएका छन् । जिल्लाका ताँजाकोट, अदानचुली, सर्केगाड र चंखेली गाउँपालिकामा सीमित मात्रामा मात्रै सरकारको ढुवानी सहुलियतमा नुन पुग्ने गरेको र त्यो नुन वर्षभरि नपुग्ने गुनासो आएको छ ।
ती चार गाउँपालिकामा ३२ हजार ३३२ जनसंख्या छ। जहाँ वर्षमा एक पटकमात्रै नुन आपूर्ति हुने गरेको स्थानीयको गुनासो छ।
जिल्ला सदरमुकाम सिमकोटमा मंगलबार सरोकारवाला निकाय,राजनीति दल,जनप्रतिनिधि,सञ्चारकर्मी,नागरिक समाजसहितको सर्वपक्षीय बैठक बसेर जिल्लामा आपूर्ति भइरहेको नुन पर्याप्त नभएको निष्कर्ष निकालेको छ। बैठकले आउने वर्षका लागि थप एक हजार ५०० क्विन्टल नुन माग गर्ने निर्णय गरेको छ ।
यहाँ सहुलियतमा नुन वितरणको जिम्मा पाएको साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले हालसम्म सदरमुकाम सिमकोट र खार्पुनाथ गाउँपालिकामा एक हजार ५२९ क्विन्टल र नाम्खा गाउँपालिकामा ६३० क्विन्टल सहुलियत कोटाको नुन वितरण गर्दै आएको जनाएको छ ।
साल्ट ट्रेडिङ हुम्ला शाखाका प्रमुख राजबहादुर लामाले जनाएअनुसार सर्केगाड र चंखेली गाउँपालिकामा एक हजार ७९ क्विन्टल र अदानचुली गाउँपालिका र ताजाकोट गाउँपालिकामा एक हजार ७९ क्विन्टल नुनको कोटा छ ।
तर, त्यो नुन पर्याप्त नभएको गुनासो बारम्बार आउने गरेको शाखा प्रमुख लामाले बताए। अहिले नुन अभाव हुन थालेपछि थप नुनको माग भएको जानकारी दिए ।
लामाका अनुसार पहिले जिल्लाभर ४ हजार ३१९ क्विन्टल नुनको आपूर्ति भइरहेको थियो । नयाँ थप माग भएको मात्राले ६ हजार १३० क्विन्टल सहुलियतको नुन हुम्लालाई चाहिने देखिएको उनले बताए।
