ब्लुबुक नवीकरण गरिदिने भन्दै सेवाग्राहीलाई अनावश्यक दुःख १६ जना बिचौलिया पक्राउ
काठमाडौँ । काठमाडौँका विभिन्न यातायात कार्यालयहरूमा ब्लुबुक (सवारी दर्ता किताब) नवीकरण गरिदिने बहानामा सेवाग्राहीहरूलाई अनावश्यक दुःख र हैरानी दिएको आरोपमा १६ जना पक्राउ परेका छन्।
मंगलबार सानोभर्याङ र गुर्जुधारास्थित यातायात कार्यालयहरूमा सार्वजनिक सेवा प्रवाहमा अवरोध पुर्याउने र सेवाग्राहीलाई बाधा व्यवधान गर्ने गरेको सूचनाका आधारमा खटिएको प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार पक्राउ परेकाहरूको साथबाट नगद एक लाख २२ हजार रुपैयाँ र ५३ थान ब्लुबुक समेत बरामद गरिएको छ ।
स्वयम्भू वृत्तको टोलीले सानोभर्याङस्थित यातायात कार्यालयबाट आठ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा रौतहटका ३६ वर्षीय बलबहादुर सुनार, रामेछापका ३९ वर्षीय विज्ञान राई र ३५ वर्षीय रमेश कार्की, काठमाडौँका ३१ वर्षीय सञ्जय राजवाहक र ३६ वर्षीय विमल तामाङ रहेका छन्। त्यसैगरी कैलालीका ६० वर्षीय सुमन प्रसाद श्रेष्ठ, नुवाकोटका ३९ वर्षीय उद्धव खनाल र धादिङकी ३६ वर्षीया कल्पना लम्साललाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ।
त्यसैगरी, गुर्जुधारास्थित यातायात कार्यालयबाट प्रहरी वृत्त थानकोटले आठ जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेहरूमा काठमाडौँका २५ वर्षीय पासाङ तामाङ र २३ वर्षीय सुदिप मगर, काभ्रेका ३० वर्षीय सुनिल लामा, धादिङका २० वर्षीय बुद्ध तामाङ र २४ वर्षीय अमन तामाङ रहेका छन् । यस्तै मकवानपुरका २६ वर्षीय सुमेश नेपाली, बझाङका १८ वर्षीय उज्वल सिंह र मोरङका २६ वर्षीय दिलिप राई पक्राउ परेका छन् ।
पक्राउ परेका सबै १६ जनामाथि थप अनुसन्धान र कानुनी प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ । सरकारी कार्यालयहरूमा हुने बिचौलियाको चलखेल र सेवाग्राहीले भोग्नुपर्ने सास्तीलाई न्यूनीकरण गर्न निगरानी बढाइएको प्रहरीले जनाएको छ ।
