धनुषामा घुमुवा बरिष्ठ सई राणाको रजगज,दुर्घटनामा नक्कली चालक खडा
धनुषा। जिल्ला प्रहरी कार्यालय धनुषामातहत प्रहरी चौकी जानकीमा कार्यरत देखाइएका बरिष्ठ सई सागर राणामाथि जिल्लाका विभिन्न स्थानमा तस्करी तथा हुन्डी कारोबारमा संलग्न रही अवैध धन्दा सञ्चालन गरेको गम्भीर आरोप लागेको छ।
सागर राणा प्रहरी चौकी जानकीमै कार्यरत रहेर जिल्लाभर ‘घुमुवा’ को भूमिकामा सक्रिय रहेको र उनलाई हालका एसपी रुगम कुँवरले संरक्षण दिइरहेको बुझिएको छ।
स्थानीय स्रोतका अनुसार, सागर राणा यसअघि धनुषामै कार्यरत रहँदा तत्कालीन एसपी नरहरि रेग्मीका निकट व्यक्ति थिए। सोही कारण उनलाई ‘घुमुवा’ बनाएर अवैध गतिविधि सञ्चालन गराइएको र ठूलो रकम असुली गरी माथिल्लो तहसम्म बुझाउने गरिएको आरोप छ।
अत्यधिक असुली र पहुँचका आधारमा उनलाई त्यतिबेला ‘पुलिस अफ द मन्थ’ घोषणा गरिएको बताइन्छ। स्रोतका अनुसार धिरज प्रताप सिँह मधेस प्रदेशको डिआइजी हुँदा प्रदेश मातहतका आठै जिल्लामा तस्करीको लाइन खुलाई राम्रै आर्थिक नजरना कुम्ल्याउन सफल भएका थिए।
६ महिना नबित्दै हालका एसपी रुगम कुँवरले धनुषामा सरुवा भएर आएको दुई महिनाभित्रै पुनः सागर राणालाई ‘पुलिस अफ द मन्थ’ घोषणा गरेपछि प्रहरी संगठनभित्र र बाहिर चर्को आलोचना सुरु भएको थियो।एसपी रुगम कुँवर स्वयम् आर्थिक रुपमा लोभी रहेको उनी निकट जानकार प्रहरी अधिकारीहरुले बताँउदै आएका छन।
आरोपित सई सागर राणा आफ्नै गृहजिल्लामा कार्यरत रहँदा पनि यस्तै गतिविधिका कारण विवादमा मुछिएपछि मधेश प्रदेशमा तानिएको जनाइएको छ।
त्यसक्रममा पहुँच र प्रभावको भरमा उनी जिल्ला प्रहरी कार्यालय बारामा फर्किएर फेरि पुरानै शैलीमा ‘घुमुवा’को रूपमा अवैध धन्दा चलाएको भन्दै उजुरीहरू परेका थिए, जसले प्रहरी हेडक्वाटरसम्म चासो बढाएको थियो।
लगातारको आलोचना र उजुरीपछि प्रहरी प्रधान कार्यालयले पटक–पटक ताकेता गर्दै उनको दरबन्दी जिल्ला प्रहरी कार्यालय रामेछापमा फिर्ता पठाएको बताइन्छ। तर, त्यहाँ पनि विवादमा परेपछि उनी हेडक्वाटर तानिएका थिए। केही समयमै फेरि पावर र पहुँचको भरमा जिल्ला प्रहरी कार्यालय मकवानपुरमा सरुवा भएको स्रोतको दाबी छ।
मकवानपुरबाट पनि ‘मालदार’ ठाउँ खोज्दै धनुषा आएका सागर राणाले केही दिनमै आफ्नै गाउँका वडाध्यक्षलाई गाली–बेइज्जत तथा कुटपिट गरेको आरोप लागेपछि विभिन्न सञ्चार माध्यममा समाचार प्रकाशित–प्रसारित भएको थियो । उक्त घटनापछि उनीविरुद्ध मुद्दा समेत दर्ता भएको जनाइएको छ ।
यस सम्पूर्ण प्रकरणबारे जिल्ला प्रहरी कार्यालय धनुषाले औपचारिक प्रतिक्रिया नदिएको अवस्थामा प्रहरी संगठनभित्रैबाट सागर राणाको भूमिकाबारे निष्पक्ष छानबिन, संरक्षण आरोपमा मुछिएका जिम्मेवार अधिकारीको जवाफदेहिता र कडा कारबाहीको माग तीव्र बन्दै गएको छ।
एसपी कुँवरले तिनै सई राणालाई ‘पुलिस अफ द मन्थ’बाट सम्मानित गरेर प्रहरी संगठनकै साखस् गिराएका छन। बरिस्ठ सई राणाको डिउटी जानकी मन्दिर चौकीमा भएपनि चौबीसै घण्टा एसपी रुगम कुँवर सँग कुममाकुम जोड्दै तस्करहरू सँग सेटीङ्ग मिलाउँदै तस्करहरुलाइ लाइन दिन तल्लिन रहेको पाईएको छ।
मधेस प्रदेश स्राेतका अनुसार सई राणाले सामाजिक अपराध देखि लागुऔषध कारोबारीहरु सँग मुद्दा मिलाइदिने नाममा ठुलै आर्थिक चलखेल गरिरहेका छन।सई राणाको यस्ता कर्तुत त कति हो कति लेखि साध्यै छैन। गत महिना धनुषामा भएको सवारी दुर्घटनामा एक महिलाले ज्यान गुमाएकी थिइन।
एक महिलाको ज्यानै जानेगरी भएको सो दुर्घटनाका सवारी चालक लाइसेन्स बिहिन थिए।लाइसेन्स विना सवारी चलाएर महिलाको ज्यानै लिएका चालकलाई उन्मुक्ति दिँदै सई राणाले ठूलो आर्थिक रकम लुँड्याएर लाइसेन्स भएका चालक खडा गर्दै मुद्दा मिलाएका थिए। सो प्रकरण सम्बन्धमा मधेस प्रदेश प्रहरी कार्यालयमा छानबिन जारी रहेको बुझिएको छ।
मधेस प्रदेश विषेश स्राेतका अनुसार सई राणाले मधेस प्रदेश प्रहरी प्रमुखलाई समेत विवादमा ल्याउने दुस्साहस गर्दै केही सञ्चारमाध्यमलाई आर्थिक नजरनाको लोभ देखाउँदै आफ्नो धन्दालाई तिव्रता दिएका छन्।
धनुषा प्रहरीका अनुसार सई राणा आफू एआइजी डा.मनोज केसीको निकट भएका कारण मधेस प्रदेशबाट कसैले हल्लाउन नसक्ने बताउँदै हिँडेका छन। सई सागर राणाले मधेस प्रदेशमा देखाएका थप रवैयाको चाँडै खुलासा गर्दैछ।
