लेखकले भने -कानुनी र राजनीतिक लडाइँ जारी छ
काठमाडौं । पूर्व गृहमन्त्री एवम् कांग्रेस नेता रमेश लेखकले १३ दिनको हिरासतपछि आफू रिहा भएको जानकारी गराएका छन्।
हाजिरी जमानीमा बिहीबार हिरासतमुक्त भएका कांग्रेस नेता लेखकले आज सामाजिक सञ्जालमार्फत आफू रिहा भएको जानकारी गराएका हुन्। अब बाँकी कानुनी र राजनीतिक लडाइँ जारी रहेको भन्दै उनले हिरासत बसाइका क्रममा सहयोग गर्ने सबैलाई धन्यवाद दिएका छन्।
यस क्रममा उनले जेनजी आन्दोलनमा भएका घटना छानबिनका लागि गठित आयोगको प्रतिवेदन प्रतिशोधपूर्ण र अप्रमाणित भएको आरोप पनि लगाएका छन्।
‘गत भाद्र २३ र २४गतेको घटनाका सन्दर्भमा गठित आयोगको पूर्वाग्रही, प्रतिशोधपूर्ण, अपूर्ण र अप्रमाणित प्रतिवेदनको आधारमा फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु’, लेखकले लेखेका छन्, ‘मेरो रिहाइका लागि आवाज उठाउनुहुने सम्पूर्ण न्यायप्रेमी दिदीबहिनी तथा दाजुभाइहरू, कानुनी लडाइँमा अहोरात्र साथ दिनुहुने कानुन व्यवसायी मित्रहरू, न्यायकर्मीहरू, अधिकारकर्मी, न्यायको पक्षमा वकालत गर्ने विभिन्न राजनीतिक दल, नेताहरू, शुभचिन्तक साथीहरू र सञ्चारकर्मीहरूप्रति आभार प्रकट गर्दछु।
उनले अगाडि लेखेका छन्, ‘साथै परमादेश जारी गर्ने सम्मानित सर्वोच्च अदालतप्रति उच्च सम्मान व्यक्त गर्दछु। म कानुन पालना गर्ने र न्यायमा विश्वास गर्दछु। बाँकी कानुनी र राजनितीक लडाइँ जारी रहनेछ।
