युद्धको बादलले विश्व बजारमा महँगियो इन्धन

एजेन्सी। अमेरिका र इरानबीच जारी युद्ध अन्त्य गर्ने प्रयास असफल भएसँगै विश्व बजारमा कच्चा तेलको मूल्यमा तीव्र वृद्धि भएको छ। अमेरिकी नौसेनाले रणनीतिक रूपमा महत्वपूर्ण मानिने ‘स्ट्रेट अफ होर्मुज’मा नाकाबन्दी गर्ने तयारी गरेपछि तेलको मूल्य प्रतिब्यारेल १०० डलर माथि पुगेको हो।

इरानबाट हुने तेल निर्यात पूर्णरूपमा रोकिन सक्ने डरले लगानीकर्ताहरू चिन्तित बनेका छन्,जसको प्रत्यक्ष असर अन्तर्राष्ट्रिय बजारमा देखिएको छ। सोमबार लन्डनको ब्रेन्ट क्रुड फ्यूचर ७.६० डलर अर्थात् करिब ८ प्रतिशतले बढेर प्रतिब्यारेल १०२.८० डलर पुगेको छ।

त्यस्तै, अमेरिकी वेस्ट टेक्सस इन्टरमिडिएटको मूल्य पनि ८.३१ डलर अर्थात् ८.६ प्रतिशतले वृद्धि भई १०४.८८ डलर कायम भएको छ। दुई साताको अल्पकालीन युद्धविराम पछि शुक्रबार र शनिबार भएको वार्ताबाट शान्ति सम्झौता हुने आशा गरिएपनि वार्ता निष्कर्षविहीन भएपछि बजारमा फेरि अस्थिरता छाएको हो।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार स्ट्रेट अफ होर्मुजमा नाकाबन्दी सुरु गर्ने घोषणा गरेका थिए। यो नाकाबन्दीले इरानसँग सम्बन्धित दैनिक करिब २० लाख ब्यारेल तेलको प्रवाह रोक्ने अनुमान गरिएको छ।