राजस्व छल्ने व्यापारीहरुलाई जोगाउँदै अर्थमन्त्री वाग्ले,गृहमन्त्री गुरुङलाई रोकिदिए
रुषा थापा
०७९ मंसिर ४ गते प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन भयो । तनहुँ क्षेत्र नम्बर १ बाट नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल निर्वाचित भए । तर, उनी राष्ट्रपति बनेपछि सो क्षेत्रमा ०८० वैशाख १० गते पुनः उपनिर्वाचन भयो । र, रास्वपाका डा.स्वर्णिम वाग्ले विजयी भए । उनी उपचुनावकै मुखमा रास्वपा भित्रिएका थिए ।
कांग्रेसमा लामो समयदेखि आबद्ध वाग्ले टिकट नपाएपछि रास्वपा गएका थिए । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सभामा पनि सोही क्षेत्रबाट निर्वाचित भएका उनी चैत १३ गते गठित बालेन्द्र साह (बालेन) नेतृत्वको सरकारमा अर्थमन्त्री बने । सुधन गुरुङ गृहमन्त्री बने । पद सम्हालेलगत्तै गुरुङ एक्सनमा उत्रिए ।
भ्रष्टाचार गरेर, राजस्व छलेर, सरकारी सम्पत्ति कब्जा तथा कालोबजारी गर्नेहरुलाई उनले पक्राउ गर्न निर्देशन दिए । फलस्वरुप एक सातामै ठूल्ठूला व्यक्ति समातिए । विगतमा सरकारसमेत परिवर्तन गर्नसक्ने हैसियत राखेकाहरु यतिबेला प्रहरी हिरासतमा छन् । बिचौलिया बनेर खर्बौको सम्पत्ति जोडेका दिपक भट्टदेखि राजस्व छल्ने व्यापारी सुलभ अग्रवालसम्मलाई प्रहरीले समातेर अनुसन्धान गरिरहेको छ ।
यो त केबल शुरुवातमात्रै थियो । गृहमन्त्री गुरुङ अझै ठूला भ्रष्टाचारी, राजस्व छल्ने व्यापारीलाई पनि कानूनी दायरामा ल्याउन चाहन्थे र चाहिरहेका छन् । तर, अर्थमन्त्री वाग्ले बाधन बने । भट्ट र अग्रवाल समातिएपछि सेयर रातै भयो । एकैदिन १०५ अंकले घट्यो । २९ सय ६७ को सेयर २६ सय ७६ सयमा झर्यो । सेयरको मूल्य दलालहरुले बढाएका थिए ।
बैंक, वित्तिय संस्था, हाइड्रोपावर, इन्स्युरेन्स कम्पनीहरुले एक सय रुपैयाँ प्रतिकित्तामा निष्काशन गरेको सेयर दलालहरुले मूल्य बढाउँदै ३२ सयसम्ममा बेचेका थिए भने सेयर कालोधन लुकाउने माध्यम बनिआएको थियो । भ्रष्टाचार गरिएको, राजस्व छलेको, गैरकानूनी कामबाट आर्जित रकमबाट सेयर किनिएको छ ।
अब रोचक कुरा चाँहि ३२ सय कित्तामा सेयर किनबेच हुँदा राज्यको ढुकुटीमा भने जम्मा सय रुपैयाँको राजस्व जान्छ । गृहमन्त्री सुधन गुरुङ यस्ता दलालहरुलाई पक्रन सक्रिय भइसकेका थिए । तर, सेयर दलालहरु अर्थमन्त्री वाग्ले कहाँ पुगेपछि उनी रोकिनुपरेको छ । वाग्लेले सेयर दलालहरुसँग भने, ‘आत्तिनुपर्दैन, अब कसैलाई पक्राउ गरिँदैन ।
यतिमात्र होइन, नेप्सेमा सम्पत्ति शुद्धिकरण नलाग्नेसमेत बताए । त्यसलगत्तै उनले गृहमन्त्री गुरुङलाई दबाब दिए । अन्ततः राजस्व छलेर वा सरकारी सम्पत्ति हड्पेर अर्बौ–खर्बौको सम्पत्ति जोडेका व्यापारी–दलालहरुलाई पक्रन ठिक्क परेका गृहमन्त्री गुरुङ अन्तिममा पछि हटे । नभए हरेक दिन कोही न कोही ठूला माछालाई समात्ने उनी अहिले किन रोकिए ? सुधन गुरुङ काम गर्न चाहन्छन् । उनी कोहीसँग डराउँदैनन्। न त लोभलालचमै पर्छन् । उनको कामले यो सबै कुरा पुष्टि गरिसकेको छ ।
तर, गुरुङको बाधक नै रास्वपाका मन्त्रीहरु बनेका छन् । सुधन बालेन पक्षमा हुन् । वाग्ले रवि पक्षका । अब रोचक कुरा चाँहि रास्वपाका धेरैजसो मन्त्री वा सांसद पुराना दल एमाले, कांग्रेस, माओवादीबाट आएका छन् । सभापति रवि लामिछाने स्वयम् पहिला राजावादी थिए । पछि उनले रास्वपा दर्ता गराए तर पुरानै दलका अनुहार भित्रिए । वाग्लेकै कुरा गर्ने हो भने धेरैजसो सर्वसाधारण भन्छन्–०७९ को निर्वाचनमा कांग्रेसको लागि भोट माग्दै हिँडेका थिए ।
उनले कांग्रेसबाट थुप्रै लाभ लिएको आरोप छ । यद्यपि, पछि उपचुनावमा टिकट नपाएकै कारण कांग्रेस छोडेर रास्वपा छिरे । अहिले मन्त्री बनेपछि कांग्रेसको छवि उनीमा देखिनु स्वभाविक हो । उनी गृहमन्त्री गुरुङलाई असफल बनाउन चाहन्छन् । किनकि गुरुङले यही रफ्तारमा काम गरे पाँच वर्षपछि रास्वपाका धेरै मन्त्री वा माननीयको राजनीति संकटमा पर्नेछ । त्यसैले, वाग्लेसहित रवि पक्षका मन्त्रीहरु गृहमन्त्री सुधनलाई काम गर्नबाट रोकिरहेका छन् ।
रवि पक्षका मन्त्रीहरु बालेन पक्षका मन्त्रीहरुलाई काम गर्न दिइरहेका छैनन् भने सभापति लामिछाने चाँहि प्रधानमन्त्री बालेनका निम्ति बाधक बनिरहेका छन् । यसको पनि कारण उही हो । यदि बालेनले काम गरेमा रविको राजनीतिक भविष्य समाप्त हुनेछ । पाँच वर्षपछि समेत बालेन नै प्रधानमन्त्री बन्नेछन् । तर, रवि यो चाहन्न । उनी आफैं प्रधानमन्त्री बन्न चाहन्छन् । आफूमाथि मुद्दा भएकोले रवि अहिले चुप छन् ।
मुद्दाबाट सफाइ पाउनेबित्तिकै उनी पनि प्रधानमन्त्री बन्न खोज्छन् । तर, बालेन काम गरेमा यो सम्भव छैन । किनकि जनताकोे नजरमा रविभन्दा बालेन माथि हुन्छन् । फेरि बालेनलाई नै प्रधानमन्त्री बनेको जनता हेर्न चाहन्छन् । त्यसैले, बालेनको लोकप्रियता घटाउन, फेरि प्रधानमन्त्री हुनबाट रोक्न रवि बालेन र उनका मन्त्रीहरुलाई काम गर्न दिइरहेका छैनन् । बालेनको रविको षड्यन्त्र समयमै नबुझ्ने हो भने पछि पछुताउनुबाहेक केही विकल्प हुने छैन ।
त्यसेले, अब बालेन र उनका मन्त्रीहरु रोकिने होइन, काम गर्ने हो । रवि र उनका मन्त्री जतिसुकै रिसाएपनि, दबाब दिएपनि रोकिनुहुन्न । नभए जेनजी आन्दोलनको के औचित्य ? साढे दुई वर्षअघि चुनाव हुनुको के अर्थ ? बालेन प्रधानमन्त्री बन्नुको के मतलब ? गृहमन्त्री सुधन गुरुङ फेरि एक्सनमा उत्रिनुपर्छ । कसैको दबाबमा पर्नुहुन्न । किनकि जनताको उनको साथमा छन् । जनताले उनलाई यसै भोट दिएका होइनन् ।
काम गर्न जिताएका हुन् । भ्रष्टाचारी र राज्यको सम्पत्ति दोहन गर्नेलाई कारबाहीको माग गर्दा ७७ जनाले ज्यान गुमाएको कुरा गृहमन्त्री गुरुङले बिर्सनुहुन्न । ओली र लेखकलाई मात्र समातेर जेनजी आन्दोलनको उद्देश्य पूरा भएको उनलाई लागेको हुनसक्छ । तर, जेनजी आन्दोलन ओली र लेखकलाई मात्र होइन, हरेक भ्रष्टाचारीलाई कानूनी दायरामा ल्याउन भएको थियो । त्यसैले, अब गृहमन्त्री गुरुङ पछि हट्नुहुँदैन ।
जनतासँग गरेका वाचा पूरा गर्नुपर्छ । नभए के फरक रहन्छ छ अहिलेको सरकार र पुराना सरकारमा ? विगतमा कांग्रेस, एमाले, माओवादीले आफ्नालाई जोगाउन फाइल थन्किए । अहिले गुरुङ दबाबमा पछि हट्दैछन् । जबकी जनता उनको साथमा छन् । स्मरण रहोस्, समय कहिल्यै फर्केर आउँदैन । यदि यो बेला उनले काम नगर्ने हो भने कहिले गर्न आउँदैनन् । त्यसैले, उनले यो अवसरको कदर गरुन् । जेनजी आन्दोलन के का लागि भएको थियो ? काम गरेर देखाउन् ।
