बुटवलमा पनि सरकारी जग्गामा बसेको बस्ती हटाउन थालियो
काठमाडौं । बुटवलमा पनि सरकारी जग्गामा बसेको बस्ती खाली गर्न सुरु भएको छ । बुटवल उपमहानगरपालिका(४ स्थित उच्च अदालत तुलसीपुर बुटवल इजलासअगाडि सरकारी जग्गामा बसेको बस्ती खाली गर्न सुरु भएको हो ।
सङ्घीय सरकारले काठमाडौंका सुकुम्वासी बस्ती खाली गराउन सुरु गरेपछि रुपन्देहीमा पनि अतिक्रमित सरकारी जग्गा खाली गराउन थालिएको हो । बुटवल उपमहानगरपालिकाले शनिवार साँझ माइकिङ गर्दै सरकारी जग्गामा बनेका संरचना तत्काल हटाउन भनेको थियो । उपमहानगरको निर्देशनपछि आज बिहानैदेखि त्यहाँ बनेका घरटहराधनीले सामान अन्यत्र सार्न थालेका छन् ।
तत्कालीन लुम्बिनी अञ्चलाधीश कार्यालयको नाममा रहेको र पछि उच्च अदालत तुलसीपुर बुटवल इजलासको नाममा भोगाधिकार दिइएको साबिक कित्ता नं। ३९६ मा बनाइएका संरचना हटाउन लागिएको हो ।
साबिकको कित्ता नं ३९६ अन्तर्गत हाल कित्ता नं ७, ८, १२, ६१, १३, ४ लगायत कित्ता पर्ने भएकाले कुन कित्तामा कसको संरचना छ भन्ने छुट्टयाउने काम भइरहेको छ । उक्त क्षेत्रमा बुटवल बार एशोसिएसन, प्रदेश प्रमुखको कार्यालयलगायतका सङ्घ–संस्थाका संरचनाहरू रहेकाले ती साबिकको कित्तामा पर्ने नपर्ने अझै थाहा हुन नसकेको र यकिन गर्ने काम भइरहेको छ ।
उक्त सरकारी जग्गामा बसेको बस्ती हटाउन २०७० सालमै पत्रिकामा सूचना जारी गरिएको भए पनि बस्ती हटेको थिएन । सरकारी जग्गामा बनेका संरचना हटाउने अभियानलाई निरन्तरता दिने उपमहानगरले जनाएको छ ।
