नेकपाको केन्द्रीय संयोजन समिति बैठक बस्दै,नेताहरूको कार्यविभाजन गर्ने तयारी

काठमाडौं। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय संयोजन समिति बैठक आज बस्दैछ। बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउँसो १ बजे बस्नेछ।

बैठकमा संयोजक पुष्पकमल दाहाल र सहसंयोजक माधवकुमार नेपालले तयार पारेको विशेष निर्णय प्रस्ताव पेस गर्ने तयारी छ।

आजको बैठकले नेताहरूको कार्यविभाजन,विभागीय जिम्मेवारी तथा सचिवालय र केन्द्रीय कार्यसमितिलाई पूर्णता दिने विषयमा ठोस निर्णय लिने सम्भावना रहेको नेता प्रकाश ज्वालाले जानकारी दिए।

यही वैशाख ३ गते बसेको बैठकले संयोजक दाहाल र सहसंयोजक नेपाललाई प्रस्ताव तायर पार्ने जिम्मेवारी दिएको थियो। यसैगरी, बैठकमा चुनावी समीक्षा प्रतिवेदनको अनुमोदन र सांगठनिक जिम्मेवारीको बाँडफाँट लगायत विषयमा छलफल हुने बताइएको छ।

जिम्मेवारी बाँडफाँट गर्दा साविकका दुई पार्टी माओवादी केन्द्र र एकीकृत समाजवादीबीच सन्तुलन कायम गर्ने मापदण्ड बनाइएको छ। नेकपामा सांगठनिक संरचनामा प्रदेश इन्चार्ज, सहइन्चार्ज, संयोजक र सहसंयोजकको जिम्मेवारी वरिष्ठ नेताहरूबाटै तोक्ने तयारी छ।

बैठकले विधान बमोजिम १२५ सदस्यीय केन्द्रीय सचिवालय र ६०१ सदस्यीय केन्द्रीय कार्यसमितिलाई पूर्णता दिने प्रस्तावमाथि पनि छलफल हुने नेता ज्वलाले जानकारी दिए।