पूर्णबहादुर खड्का समूहको बैठक बस्दै

काठमाडौं। नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आज आफ्नो समूहको बैठक बोलाएका छन् ।

बैठकमा समूहका शीर्ष नेता, १४ औँ महाधिवेशनमा विजयी केन्द्रीय सदस्य, जिल्ला सभापतिहरू र उपत्यकामा उपलब्ध क्षेत्रीय सभापतिहरूलाई बोलाइएको छ।

बैठक धुम्बाराहीस्थित होटल स्मार्टमा बिहान ११ बजे बस्ने छ । विशेष महाधिवेशनबाट गगन थापा नेतृत्वमा पार्टी पुनर्गठन भएदेखि खड्का असन्तुष्ट देखिन्छन्।

उनले विशेष महाधिवेशन खारेज गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर समेत गरेका थिए। तर सर्वोच्चले रिट खारेज गर्दै गगन थापा नेतृत्वको कांग्रेसलाई मान्यता दिएपछि पनि उनले आफ्नो समूहका नेताहरूसँगको बैठक र छलफल जारी राख्दै आएका छन्।

उनको गतिविधिलाई संस्थापन पक्षले अनुशासन विपरीतको भन्दै स्पष्टीकरण समेत सोधेको थियो । तर उनले स्पष्टीकरण बुझाएनन् । बरु सभापति गगन थापा ६ वैशाखमा गोल्फुटारस्थित खड्का निवास पुगेर भेटघाट गरेका थिए ।