नेकपाले भन्यो-नीति तथा कार्यक्रम उत्साहहीन,प्रधानमन्त्रीको व्यवहार अशोभनीय

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका प्रमुख सचेतक युवराज दुलालले सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमले आम जनतामा कुनै नयाँ उत्साह जगाउन नसकेको टिप्पणी गरेका छन्।

नयाँ सरकार गठन भएसँगै नीति तथा कार्यक्रममा नवीनता र विशेष योजनाको अपेक्षा गरिए पनि यो केवल विगतकै निरन्तरता मात्र भएको उनले बताए । सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै प्रमुख सचेतक दुलालले सरकारको नीति तथा कार्यक्रमलाई ‘हात्ती आयो, हात्ती आयो फुस्सा’ को संज्ञा दिए । उनले २०७४र७५ देखि नै प्रदेश र संघको नीति कार्यक्रम उस्तै शैलीमा आइरहेको उल्लेख गर्दै यसपटक पनि कुनै नयाँ ऊर्जा वा सोच नदेखिएको बताए ।

उनले भने, ‘कतिपय कुरामा निरन्तरता हुनु स्वाभाविक भएपनि जुन खालको नयाँ अपेक्षा र सपना देखाइएको थियो, ती अधुरै रहेका छन् । नीति कार्यक्रम सुन्दै गर्दा यसमा नवीन शब्द र ऊर्जा हराएको महशुस भयो।

सम्बोधनका क्रममा राष्ट्रपतिले नीति तथा कार्यक्रम वाचन गरिरहँदा प्रधानमन्त्री बालेन्द्र साह कबीचमै संसद हलबाट बाहिरिएको विषयलाई दुलालले ‘अशोभनीय हर्कत’ र ‘राष्ट्रिय लज्जा’ को विषय बताए ।

उनले भने, ‘मर्यादित राष्ट्र प्रमुखले आफैँले हस्तान्तरण गरेको प्रति पढ्दै गर्दा बीचमै छोडेर हिँड्नु संसदीय मर्यादा विपरीत छ । सायद प्रधानमन्त्री ज्यूलाई आफ्नै कार्यक्रम सुन्न पनि बोर लागेर होला ।

सुशासन, विधिको शासन र रोजगारी सिर्जनाका सवालमा सरकार चुकेको उनको तर्क छ। निर्वाचनका बेला राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लगायतका दलहरूले युवाहरूलाई स्वदेशमै रोक्ने र बन्द उद्योग सञ्चालन गर्ने आश्वासन दिएपनि नीति तथा कार्यक्रममा ती विषयले ठोस प्राथमिकता नपाएको उनले बताए। वैदेशिक रोजगारीमा रहेका युवाहरूलाई फर्काउने र स्वदेशमै अवसर दिने खालका नविनतम कार्यक्रम आउने अपेक्षा पूरा नभएको उनले औँल्याए।

नीति तथा कार्यक्रममा केही सकारात्मक बुँदाहरू रहेकाले आफू पूर्ण रूपमा निराश नभएको स्पष्ट पार्दै उनले कार्यान्वयनको पक्षमा भने कुनै ठूलो चुनौती नदेखिएको बताए । परम्परागत कार्यक्रम भएकाले यसको कार्यान्वयन सामान्य रहने उनको विश्लेषण छ । यद्यपि, नयाँ सरकारले जनतामा नयाँ उत्साह र आशाको सञ्चार गर्नुपर्नेमा सरकार चुकेको उनको निष्कर्ष छ।