पलायन छोडेर स्वदेश फर्कन महन्थ ठाकुरको आग्रह
काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी लोसपाका अध्यक्ष महन्थ ठाकुरले विदेशमा रहेका राजनीतिक नेता तथा व्यवसायीहरूलाई पलायन छोडेर स्वदेश फर्कन आह्वान गरेका छन् ।
बुधबार विकास,आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा बोल्दै उनले देशमा नयाँ राजनीतिक परिस्थिति विकसित भइरहेकाले अब बाहिर बसिरहनुपर्ने अवस्था नरहेको बताए।
अध्यक्ष ठाकुरले तीन प्रमुख राजनीतिक दलहरूबीच सहकार्यको वातावरण बनेको उल्लेख गर्दै सबै पक्ष मिलेर अघि बढ्नुपर्नेमा जोड दिए। उनले नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा, नेतृ आरजु राणा देउवा तथा मारवाडी समुदायका व्यवसायीहरूलाई समेत लक्षित गर्दै मातृभूमि फर्कन आग्रह गरे ।
उनले विगतमा भोगेको राजनीतिक दमन र कारागार जीवनको स्मरण गर्दै वर्तमान नेतृत्वलाई सचेत रहन चेतावनीसमेत दिए । साथै महिलामाथि हुने हिंसा र अपमानलाई अक्षम्य अपराध भन्दै त्यस्ता कार्यमा संलग्नले ढिलोचाँडो सजाय भोग्नुपर्ने धारणा राखे ।
अध्यक्ष ठाकुरले राजनीति जनसेवाका लागि हुनुपर्नेमा जोड दिँदै व्यक्तिगत स्वार्थभन्दा माथि उठ्नुपर्ने बताए। उनले मधेस केन्द्रित दलहरूको एकता र सहकार्यको आवश्यकता औँल्याउँदै ‘युनाइटेड मधेस’ अभियान पनि अघि बढिरहेको जानकारी दिए ।
बैठकमा उनका केही भनाइबारे अन्य सदस्यहरूले स्पष्टीकरण मागेपछि उनले आफ्ना अभिव्यक्ति राजनीतिक सद्भाव र राष्ट्रिय एकताको उद्देश्यले दिएको स्पष्ट पारेका थिए।
